विराटनगर । उनी सिटी रिक्सा चलाउँछन् । त्यसबाट हुने आम्दानीले परिवारको खर्च टर्छ । जीवन बाँच्न दुखजिलो छ । तर, जीवन भोगाइबारे उनलाई कसैसँग गुनासो पनि छैन । चिन्ता छ त राजनीतिमा नैतिकता हराएको विषयमा । उनी बिग्रँदो राजनीतिक चरित्र र विभदेपूर्ण वर्गीय व्यवस्थाको कडा आलोचना गर्छन् ।
उनी हुन् मोरङको विराटनगर महानगरपालिका ६ निवासी ध्रुवकुमार विश्वकर्मा । जसले वडाध्यका लागि उमेदवारी दर्ता गराएका छन् ।
उनी भन्छन्, “स्थानीय सरकार भनेर जनप्रतिनिधि आए पनि दलित जनजातिको कामचाहिँ गरेका छैनन् । ललिपप देखाएका छन् । हुने खानेको मात्र काम भएको छ । कार्यालयमा गयो भने चारपाँच दिनसम्म काम हुँदैन । लोकतन्त्र भन्यो अनि खाली छाडातन्त्र मात्र हुन्छ । म रिक्सा चालक हुँ । अब समस्यामा परेका मानिसलको सेवा गर्न उमेदवारी दिएको छु ।”
विश्वकर्मा विराटनगरको मंगलुबाबा टोलमा बस्छन् । साथीहरूले पनि उमेदवारी दिन भनेपनि उनले वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका हुन् । “मैले संविधानले दिएको अधिकार प्रयोग गरेको हो । पार्टीले मात्र यो अधिकार प्रयोग गर्ने होइन । हामीले स्वतन्त्र रूपमा पनि उमेदवार बनेर जनसेवा गर्न सकिन्छ,” उनले भने ।
पहिले उनी कांग्रेस र त्यसपछि माओवादीमा लागे । तर, सबै पार्टी उस्तै लागे । चित्त बुझेन अनि स्वतन्त्र उमेदवारी दिए ।
उनी वन विभागमा १२ वर्ष जागिरे थिए । ‘रिटार्यड’ भएपछि पार्टीको राजनीतिमा लागे । तर, नेता र तिनका व्यवहार ठिक लागेन । बुझ्दै गएपछि धेरैले जनताका काम नगर्ने रहेछन् । आफ्नै फाइदा हेर्ने रहेछन् । उनका लागि पार्टीका राजनीतिक काम नै लागेन ।
उनी भन्छन्, “म वास्तविक दुःखमा परेका जनताको सेवा गर्नका लागि वडाअध्यक्ष बन्न लागेको हुँ ।”