काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आइतबारदेखि ‘कन्स्ट्रक्सन होलिडे’मा जाने घाेषणा गरेकाे छ । शुक्रबार महासंघमा पत्रकार सम्मेलन गरी अध्यक्ष रवि सिंहले अहिलेकै अवस्थामा निर्माण कार्य अघि बढाउन नसकिने भएकाले ‘कन्स्ट्रक्सन होलिडे’ आह्वान गरिएको बताए ।
महासंघले निर्माण सामग्रीहरूमा भएको अत्याधिक मूल्यवृद्धिको सम्बोधन नभएसम्म वा मूल्यवृद्धि नियन्त्रण भई सामान्य अवस्था नभएसम्मको अवधिलाई यही आइतबारदेखि लागु हुने गरी कन्स्ट्रक्सन होलिडे मानिने बताएको छ । 'कन्स्ट्रक्सन होलिडे’ को अवधिमा पनि अत्यावश्यक निर्माण कार्यलाई भने नरोकिने अध्यक्ष सिंहले बताए ।
महासंघले आन्दोलनका थप कार्यक्रम पनि सार्वजनिक गरेको छ । जसअन्तर्गत ७७ जिल्ला संघहरूले आ–आफ्नो जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयमा र सातवटै प्रदेश महासंघहरूले आ–आफ्ना प्रदेशमा रहेका प्रदेश मुख्यमन्त्रीको कार्यालयमा वैशाख १३ गते देखि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो १२ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेकाे छ ।
पछिल्लो समयमा निर्माण सामग्रीहरूमा भएको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनका केही त्रुटिपूर्ण बुँदा लगायतका कारणले निर्माण उद्योग धरासायी भएको अध्यक्ष सिंहले बताए । निर्माण उद्योगमा आबद्ध १७ हजार भन्दा बढी व्यवसायीहरू पेशाबाटै पलायन हुने स्थिति देखापरिसकेको र उनीहरूमा आश्रित लाखौंँ परिवारको भविष्य अन्यौलमा परेको उनले बताए ।
निर्माण उद्योग धराशायी हुँदा समग्र अर्थतन्त्रमा अत्यन्त नकारात्मक असर परेकोबारे प्रधानमन्त्री, मन्त्रीहरू, मुख्य सचिव, सचिवहरूलगायत सरोकारवाला सबैको समयमै ध्यानाकर्षण गराई माग पूरा गर्ने समयसीमा दिँदासमेत कुनै सुनुवाइ नभएको महासंघले जनाएको छ । अप्रत्यासित रूपमा मूल्यवृद्धि हुँदा मूल्यवृद्धिलाई सम्बोधन गर्न २०६५ सालमा पनि मूल्य समायोजन मार्गदर्शन–नम्बर १ जारी गरी निर्माण कार्य सुचारु गरेको नजिर भएको र सोही नजिरअनुसार यस पटक पनि मूल्य समायोजन मार्गदर्शन– नम्बर २ जारी हुनुपर्ने माग महासंघले अघि सारेको छ ।