काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी गठबन्धन बनेको देखेर नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आत्तिएको बताएका छन् ।
मंगलबार काठमाडौंमा नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा नेता पौडेलले आत्तिएर ओलीको अभिव्यक्ति पनि सन्तुलित हुन छोडेको बताए ।
“अहिलेको गठबन्धन संविधान र व्यवस्था नै सिध्याउन खोज्ने ओलीको अधिनायकवादका विरुद्धमा हो । यो खाली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि मात्र बनेको गठबन्धन होइन । त्यसैले तपाईंहरूले गठबन्धनको भावनालाई आत्मसात् गर्नुहोस्,” पौडेलले भने, “गठबन्धन बनेपछि ओली आत्तिएका छन् । उनी थुरुरु भएका छन् । त्यसैले उनले बोल्दा सन्तुलन समेत गुमाउन थालेको देखिँदै छ ।”
पौडेलले सरकार सञ्चालनको साटो अधिनायक बन्ने आकांक्षा देखाएर संविधान र लोकतन्त्रलाई धरापमा पारेर ओलीले नै गठबन्धन बनाइदिएको तर्क गरे ।