site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेको पाँच वर्षअघिका सपना– काठमाडौंमा रेलदेखि पानीजहाजसम्म कागजमै सीमित
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले यतिबेला स्थानीय तहको निर्वाचनको घोषणापत्र निर्माणमा व्यस्त छ । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको समितिले लेखिरहेको घोषणापत्र वैशाख ९ गते सार्वजनिक गर्ने तयारी गरिएको छ ।

२०७४ को निर्वाचनमा एमालेले सवल राष्ट्र निर्माणका लागि रेल, पानीजहाज चलाउनेसम्मका ५३ बुँदे सपना बाँडेको थियो ।

स्थानीय तहमा दोस्रो कार्याकालका लागि प्रतिनिधि चयन हुने अवस्थामा आइपुग्दा कतिपय प्रतिबद्धता कार्यान्वयनको प्रारम्भिक चरणमा छन् । कतिपय कामहरु सम्पन्न भए भने अधिकांश सपना भने कागजमै सीमित रह्यो । पाँचवर्ष अघि देखाइएका सपनाको संक्षिप्त रुप र कार्यान्वयनको अवस्था यस्तो छ : 

Agni Group
NIC Asia

६ लेनको सडकदेखि रेलसम्म 

एमालेले उक्त घोष्णापत्रको बुँदा नम्बर २२ मा राजमार्गहरुलाई ६ लेनमा स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएको थियो । त्यस्तै पूर्व–पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गरिने योजना प्रतिबद्धताको बुँदा २३ समेटेको थियो । साथै काठमाडौंमा मेट्रोरेल निमार्ण गरिने प्रतिबद्धता व्यक्त गरेको थियो । 

Global Ime bank

“पूर्व पश्चिम राजमार्ग र मध्यपहाडी पुष्पलाल राजमार्गको समानान्तर अत्याधुनिक रेल सञ्चालन गरिने छ । रसुवागढी– काठमाडौं– पोखरा– लुम्बिनी रेलमार्ग सम्पन्न गरिनेछ । काठमाडौं विरगञ्ज रेलमार्ग निर्माण गरिनेछ । यसबाहेक अन्य सिमा नाकाबाट रेलमार्गको सम्भाव्यता अध्ययन गरी निर्माण योजना अघि बढाइनेछ ,” घोषणा पत्रमा भनिएको छ,“राजधानी काठमाडौंमा ट्राम र अत्याधुनिक मेट्रो रेल निर्माण गरिने छ । राजधानीसँग जोडिएका जिल्लाहरूमा रेल सेवा विस्तारको सम्भाव्यता अध्ययन गरी रेल सेवा विस्तार योजना शुरु गरिने छ । यसबाट आर्थिक क्रियाकलापमा बद्धि भई जनताको जीवनस्तरमा ठूलो उन्नति र परिवर्तन हुनेछ ।” 

एमालेलेको महत्वाकांक्षी योजना कागजमा नै सीमित भयो । यसको प्रारम्भिक काम नै सुरु हुन सकेन । एमालेले स्थानीय तह निर्वाचनमा नै झुटा आश्वासन बाँडेको भन्दै आलोचना समेत भएको थियो । 

पानीजहाज कार्यालय मात्रै 

एमालेले पानीजहाज सञ्चालनको प्रतिबद्धता जनाएको थियो । २०७५ फागुन २ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज कार्यालयको उद्घाटन गरेका थिए । भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहनेगरी एकान्तकुनामा कार्यालय स्थापना गरिएको छ । 

“कोसी, गण्डकी र कर्णाली नदीहरूमा आन्तरिक र वाह्य जलमार्गका सम्भाव्यता अध्ययन गरिने छ । देशका विभिन्न भागमा निर्माण गरिने उच्च बाँध जलाशयहरूमा स्थानीय यातायात तथा पर्यटकीय सेवाका लागि जलमार्गको विकास गरिने छ,” घोषणा पत्रको २५ नम्बर बुँदामा उल्लेख छ,“ राष्ट्रिय ध्वजाबाहक पानीजहाज सञ्चालनको संभाव्यता अध्ययन गरी योजना कार्यान्वयन गर्न भारत, चीन र बङ्गलादेश सरकारसँग वार्ता गरिनेछ । भूपरिवेष्ठित मुलुकहरूले समुद्र उपयोग गर्न पाउने अधिकार अनुरुप हिन्द र प्रशान्त महासागरमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनको कानुनी तथा संस्थागत तयारी गरिने छ । ”

पानी जहाज कार्यालय बने पनि काम भने नभएको भन्दै आलोचना हुँदै आएको छ । 

विमानस्थलका काम के भए ? 

एमालेले स्थानीय तह निर्वाचनको घोषणापत्रमा नै १० वर्षभित्र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने प्रतिबद्धता जनाएको थियो । 

दुई वर्षभित्र सञ्चालन हुने गरी भैरहवा र तीन वर्षभित्र सञ्चालन हुने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न गरिने एमालेको जिकिर थियो । 

“आगामी १० वर्षभित्र सञ्चालन भई सक्ने गरी निजगढमा अत्याधुनिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिने छ ।  आगामी दुई वर्षभित्र सञ्चालन हुने गरी भैरहवा र तीन बर्षभित्र सञ्चालन हुने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सम्पन्न गरिनेछ । विराटनगर, नेपालगञ्ज, सुर्खेत तथा धनगढी विमानस्थलको विस्तार तथा स्तरोन्नत गरी प्रादेशिक स्तरका अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने छ । तराई, पहाड र हिमाली जिल्लाहरूमा रहेका सबै आन्तरिक विमानस्थलहरूलाई अत्याधुनिक, सुविधासम्पन्न र सुरक्षित हुने गरी विस्तार तथा स्तरोन्नत गरिने छ,” एमालेले भनेको थियो ।
भैरहवा विमानस्थल वैशाखदेखि सञ्चालनमा आउने तयारीमा छ । 

पोखरा विमानस्थल निर्माणकै क्रममा छ भने निजगढ विमानस्थलको काम केही पनि अघि बढेको छैन । जग्गा अधिग्रहण, रुख कटानको विवाद कायम छ । 

विकासशील राष्ट्रको पंक्तिमा ! 

एमालेले मुलुकलाई पाँच वर्षभित्रमा नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पुर्याइने घोषणा गरेको थियो । दश वर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलरभन्दा बढी पुर्याएर मध्यम आय भएका मुलुकहरुको तहमा स्तरोन्नत गरिने प्रतिबद्धता पनि जनाएको थियो ।

“आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंतिमा पुर्याइनेछ । दशवर्षभित्र प्रतिव्यक्ति आय पाँच हजार डलरभन्दा बढी पुर्याएर मध्यम आय भएका मुलुकहरुको तहमा स्तरोन्नत गरिनेछ । आगामी २५ वर्षभित्र नेपाललाई सम्मुनत राष्ट्रको स्तरमा पुर्याउँदै समाजवाद निर्माणको आधारलाई सुदृढ गरिनेछ,” १८ नम्बरमा भनिएको छ ।

धरहरा हतारमा उद्घाटन अझै २० प्रतिशत बाँकी    

एमालेले घोषणा पत्रको २९ नम्बरमा मेरो धरहरा म आफैं बनाउँछु अभियान सञ्चालन गरेर पुनः निर्माण गरिने प्रतिबद्धता गरेको थियो । भूकम्पले भत्काएको धरहरा बनाउन ओलीले आफैं बनाउँछु धरहरा अभियान चलाएका थिए । ओलीले पूर्ण रुपमा काम सम्पन्न नहुँदै उद्घाटन गरेका थिए । ६८ प्रतिशत काम समाप्त भइसकेपछि वैशाख ११ गते उद्घाटन गरेका थिए । अब २० प्रतिशत काम बाँकी रहेको बताइएको छ । 

स्वास्थ्य बिमा कार्यक्रम 

एमालेले स्वास्थ्य क्षेत्रमा पनि सपना बाँडेको थियो । सबै नागरिकलाई अनिवार्य स्वास्थ्य बिमामा आवद्ध गर्ने घोषणा गरेको थियो । स्वास्थ्य विमा कार्यक्रम सञ्चालनमा पनि ल्याइएको छ । तर, प्रभावकारी हुने सकेको छैन । स्वास्थ्य विमा कार्यक्रममा आकर्षण कम रहेको एमाले नेताहरु नै बताउँछन् ।

त्यस्तै एमालेले हरेक गाउँपालिका केन्द्रमा २५ र नगरपालिकाको केन्द्रमा ५० शैय्याका सुविधासम्पन्न अस्पताल निर्माण गर्ने बताएको थियो । तर, त्यो प्रतिबद्धता पनि कार्यान्वयन हुन सकेन । 

अन्तराष्ट्र्रिय स्तरका तीन रंगशाला !
एमालेले खेलकुद क्षेत्रमा पनि विभिन्न प्रतिबद्धता जनाएको थियो । त्यसमध्ये काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाहरुमा ५० हजार सिट क्षमताका अन्तर्राष्ट्रिय स्तरका तीन रंगशाला निर्माण गरिने घोषणापत्रमा उल्लेख छ । त्यस्तै राजधानीमा एक खेलकुद विश्वविद्यालय र प्रदेश सदरमुकाममा खेलकुदसम्बन्धि आवासीय विद्यालय तथा महाविद्यालय सञ्चालन गरिनेसमेत घोषणा गरेको थियो । तर, संघीय सरकारकोसमेत साढे तीन वर्ष नेतृत्व गरेको एमालेले कुनै काम अघि बढाउन सकेन । 

तुइन विस्थापन गरेको दाबी 
एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले २०७२ सालमा नै तुइन विस्थापन गर्ने निर्णय गरेको थियो । 

२०७४ को स्थानीय निर्वाचनमा एमालेले एक वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेको थियो । 

“सबै तुइनहरुलाई एकवर्षभित्र झोलुङ्गे पुलद्वारा विस्थापन गरिनेछ । मोटरबाटो पुगेका या पुग्न सक्ने ठाउँका तुइन र झोलुंगेपुलहरुका ठाउँमा दुई वर्षभित्रै मोटरपुल निर्माण गरिनेछ,” घोषणापत्रमा भनिएको छ ।
ओली कार्यकालमा तुइन विस्थापनले तिव्रता पाए पनि पूर्णता भने पाउन सकेको छैन । ओलीले आफ्नो कार्यकालमा तुइन विस्थापन भइसकेको दाबी गर्दै आइरहेका छन् । 

एमालेले घोषणापत्रमा धरालतभन्दा माथि उठेर हावादारी सपना बाँडेको आरोप पनि लाग्दै आएको छ । अघिल्लो निर्वाचनको घोषणापत्रलाई समक्षा गरी यसपटकको घोषणापत्र निर्माण गर्ने नेताहरुले बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २९, २०७८  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय