काठमाडौं । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रवर्द्धन : नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ काठमाडौंमा आठौँ राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन जारी छ । सम्मेलनको दोस्रो दिन आज उद्घाटन समारोहपछि दुईवटा समानन्तर सत्रमा छलफल जारी छ ।
छलफलमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडेमियोलोजिकल र क्लिनिकल अनुसन्धानलगायतका विषयहरूमा अन्तरक्रिया भइरहेको छ ।
सम्मलेनका लागि शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रका लागि अनुसन्धानको महत्वलाई थप उजागर गरेको बताएका छन् । सम्मेलनलाई शुभकामना दिँदै वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले स्वास्थ्य अनुसन्धानलाई फजुल खर्चको रूपमा नलिन सबै प्रदेश सरकारहरूलाई आग्रह गरेका छन् ।
मुलुकको स्वास्थ्य नीति सुधारको पहिलो आधार नै अनुसन्धान भएकाले यसलाई बलियो बनाउन सबै प्रदेशले अनुसन्धानमा बजेट छुट्याउन र प्राथमिकतामा राख्न उनले आग्रह गरे । वाग्मती प्रदेश अनुसन्धानका क्षेत्रमा परिषद्सँगै मिलेर बढ्न तयार रहेको र त्यसका लागि बजेट तथा कानुनी व्यवस्था गर्न पनि तयार रहेको पाण्डेले बताए ।
पूर्वमन्त्री तथा एमाले नेता योगेश भट्टराईले स्वास्थ्य अनुसन्धानका माध्यमबाट पञ्चपवर्षीय योजनाहरूमा राखिएका स्वास्थ्य विकासका लक्ष्यहरू पूरा भए/नभएको निष्कर्ष बाहिर ल्याउनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै भट्टराइले भने, "हामीले १५औँ पञ्चवर्षीय योजनामा स्वास्थ्य विकासका कस्ता कस्ता बुँदा राखेका थियौँ । तीमध्ये कति कार्यान्वयन भए कति भएनन, लक्ष्य भेट्न अब के गर्नुपर्छ, यसबारे पनि अनुसन्धान रिपोर्ट बाहिर आओस् ता कि आगामी दिनमा हासिल गर्नयोग्य बुँदाहरू योजनामा समेटिऊन् ।"
भोलिसम्म चल्ने तीनदिने सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुतीकरणका लागि छनोट भएका थिए । देशभरका स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्या विद्, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरूबीचको ३१ जना राष्ट्रिय र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरूले प्रस्तुतीकरण दिने तालिका छ ।
सम्मेलनको तेस्रो दिन भोलि विश्वव्यापी स्वास्थ्य र कार्यान्वयन अनुसन्धानका बारेमा छलफल गरिने छ । भोलि नै अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ, नवजात शिशु, र बाल स्वास्थ्य र अन्तरविषय अनुसन्धानका बारेमा स्वदेशी तथा विदेशी विज्ञहरूबाट बृहत छलफल कार्यक्रम पनि राखिएको छ ।
कार्यक्रमको समापनमा उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न अवार्डहरूद्वारा सम्मानित गरिनेछ । जसमा एनएचआरसी बेस्ट रिसर्च पेपर अवार्ड, हेल्थ रिसर्च अवार्ड, मृगेन्द्र–सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड (चिकित्सक), मृगेन्द्र–सम्झना मेडिकल ट्रस्ट योङ हेल्थ रिसर्चर अवार्ड (एनएचआरसी स्टाफ), हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट अवार्ड, एनएचआरसी बेस्ट पर्फमर अवार्ड, बेस्ट प्रिजेन्टेसन एवार्ड (ओरल) र बेस्ट प्रिजेन्टेसन एवार्ड (पोस्टर) अवार्ड रहेका छन् ।
तीनदिने छलफलबाट नीति निर्माण गर्न तथा जनस्वास्थ्यका सवालहरूको अन्तरविषयात्मक अनुसन्धानका बारेमा ठोस निष्कर्ष निस्कने आयोजक नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को विश्वास छ । सोही निष्कर्षका आधारमा नेपालको स्वास्थ्य अनुसन्धान क्षेत्रलाई थप बृहत बनाउँदै लगिने नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।