काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अनुत्पादक क्षेत्रमा लगानी गर्नुबाहेक देश बनाउने कुनै पनि योजना नल्याएको दाबी गरेका छन् ।
स्याङ्जाको चापाकोट नगर कार्यसमितिले बिहीबार ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रम सम्बोधन गर्दै उनले ओलीको शासनकालमा टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमार्फत जथाभाबी पैसा खर्च गर्नबाहेकको काम नभएको जिकिर गरे।
"ओली कालमा भएको यो दुईवटा काम मात्रै हो, टावर बनाउने र प्रधानमन्त्री स्वरोजगार कोषमा जथाभाबी पैसा खर्च गर्ने । उहाँले अरू कुनै नयाँ कुरा दिएर देश बनाउने गरी योजना ल्याउनुनै भएन," उनले भने ।
टावर मोडेलको विकास भ्रष्टाचार बढाउने माध्यम बनेको नेता पौडेलको भनाइ छ । "नेपाल डाँडैडाँडाको देश हो । प्रकृतिले हामीलाई अलरेडी टावर दिएको छ, त्योमाथि ठड्याइएका ओलीका कृतिम टावरले भ्रष्टाचार बढायो । परनिर्भता बढायो । टावर मोडेलको विकास भ्रष्टाचार बढाउने एउटा माध्यम बन्यो," उनले भने ।
वडादेखि केन्द्रसम्म टावर बनाएर ओली सरकारको पालमा अनुत्पादक ठाउँमा लगानी गरिएको पौडेलले बताए ।
प्रधानमन्त्री स्वरोजगार कोषले नेपाली जनतालाई अल्छी बनाएको पौडेलले बताए ।