किभ । युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसलाई उसका गल्तीहरूका लागि सही सजाय नदिएमा विश्वका अन्य मुलुकहरू पनि आफ्ना साना छिमेकमाथि हमला गर्न तथा हिंसा मच्चाउन उत्प्रेरित हुने चेतावनी दिएका छन् ।
आइतबार मात्र युक्रेनको राजधानी किभ भन्दा उत्तरतर्फ रहेको बुचा सहरमा रुसी फौजले क्रुरतापूर्वक हत्या गरेका ४०० बढी सर्वसाधारणहरूको शव सडकभरि यत्रतत्र भएको तस्बिर बाहिरिएको थियो । यसले पूरै विश्वलाई स्तब्ध बनाइदिएको छ भने अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गरेकामा रुसमाथि कडा भन्दा कडा कारबाही गर्न सबैतिरबाट अपील गरिएको छ ।
जेलेन्स्कीले घटनाबारे भनेका छन्, “सयौँका सङ्ख्यामा निर्दोष सर्वसाधारणहरूलाई यातना दिएर क्रुरतापूर्वक मारिएको छ । त्यहाँका सडकहरू शवले भरिएका छन् । यहाँसम्मकी मृतकलाई पनि उनीहरूले त्यसै छाडेका छैनन् । आफूलाई ‘सेना’ भनेर बेलाउने उनीहरूले लुटपाट, हिंसा, बलात्कार, अत्याचारजस्ता सबै अमानवीय व्यवहारको सीमा पार गरेका छन् ।”
“सडकमा साइकल चलाइरहेको मान्छेले रुसको के बिगारेको थियो ? किन यसरी साधारण जनताको क्रुरतापूर्वक हत्या गरियो ? आफ्नो सहर, आफ्नो घरमा शान्तसँग बसिरहेका सर्वसाधारणलाई किन यातना दिएर मारियो ? महिलाहरूको कानै छुट्टिने गरी तिनका झुम्काहरू लुटेर लगियो, उनीहरूलाई तिनका बच्चाकै अगाडि बलात्कार गरियो किन ? हत्या गरिसकेपछि पनि मृतकको शवमाथि ट्याङ्क चलाएर धुजाधुजा किन पारियो ? युक्रेनको बुचा सहरले रुसलाई के गरेको थियो र ? रुसको के बिगारेको थियो ?”, जेलेन्स्कीले भावुक हुँदै प्रश्न गरेका हुन् ।
“यो सबै उनीहरूका लागि कसरी सम्भव भयो ? रुसी आमाहरू तपाईंहरूले जन्माएका ती सेना मान्छे होइन रहेनछन्, राक्षस रहेछन् । अब पनि तपाईंहरू कसरी आफ्ना बच्चाबारे अज्ञात रहेर बस्न सक्नुहुन्छ ? न उनीहरूसँग कुनै आत्मा छ न मुटु नै रहेछ । उनीहरूले जानीजानी सबै बुझेर हत्या गरेका छन् । खुसी भएर यस्तो भयावह अपराध गरेका छन् । त्यसैले म रुसी फेडेरेसनका सबै लिडरहरूलाई तिनका आदेशहरू कसरी पालन गरियो भनेर देखाउन चाहन्छु । ती सबै हत्या, यातना, अत्याचारका लागि उनीहरू सबै जिम्मेवार छन् । सबैले अब रुसी सेनाको यही रूप देख्नेछन् । उनीहरूको छवि यतिसम्म खराब भइसकेको छ । उनीहरूको संस्कृति, मानव स्वरूप, परम्परा सबै यससँगै नष्ट हुन्छ । हामीले प्रत्येक अपराधमाथि कडा अनुसन्धान जारी गर्नेछौँ ।”
बुचाका मेयर, अनातोली फेदोरकले उक्त भयावह दृश्यका तस्बिर र भिडियोहरू सार्वजनिक गरेका थिए । जसमा निर्दोष सर्वसाधारणहरूको हात पछाडिबाट कपडाले बाँधेर, टाउकोमा गोली हानिएको देखिन्छ भने विभिन्न स्थानमा जथाभाबी शवहरूलाई सामूहिक रूपमा सतहमै गाढिएको पनि देखिएको छ ।
यसबारे उनले भने, “युद्ध जस्तोसुकै भएपनि सर्वसाधारणसँग गरिने व्यवहार सम्बन्धी निश्चित कानुन छन् तर रुसले जानी जानी यसरी निर्मम हत्या गरेको देखिन्छ । उनीहरूले अवश्य पनि राष्ट्रपति भ्लादिमिर पुटिनको स्वीकृति पाएरै निर्दोष जनतामाथि अत्याचार गरिरहेका थिए ।”
यो घटनासँगै विश्वभरका लिडरहरूले मृत युक्रेनीहरूप्रति समवेदना व्यक्त गरेका छन् भने रुसमाथि कडा भन्दा कडा कारबाही अघि बढाउने संकल्प लिएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रुसलाई रोक्न आफ्नो हातमा भए जति सबै शक्ति लगाउने बताएका हुन् ।
त्यस्तै अमेरिकाका विदेश मन्त्री ब्लिङकनले पनि आफूसँग दुःख व्यक्त गर्ने शब्द नभएको बताउँदै कडा निन्दा गरेका हुन् ।
रोयटर्सबाट ।