बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाको तेल रिजर्भ खुलाउनेबारे छलफल गरेसँगै तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । यसअघि बाइडेन प्रशासनले आगामी महिनाहरुमा अमेरिकाको ‘स्ट्राटजिक पेट्रोलियम रिजर्भ’ बाट १८ करोड ब्यारल अर्थात हरेक दिन १० लाख ब्यारलसम्म तेल निकाल्ने बताएको थियो ।
यदि बाइडेनले यस्तो निर्णय गरेमा १९७४ मा उक्त रिजर्भ निर्माण भएदेखिकै यो सबैभन्दा ठूलो निष्कासन हुनेछ ।
युक्रेनमा जारी युद्धका कारण अहिले विश्वव्यापी बजारमा आपूर्ति कटौति हुने डरले तेलको मूल्य आकाशिएको अवस्था छ ।
यस्तोमा बाइडेन प्रशासनको भनाइपछि बिहिबार तेलको मूल्यमा ५.४ प्रतिशतसम्म गिरावट आएको हो ।
अमेरिकामा नोभेम्बरको मध्यावधि चुनाव अगाडि तेलको मूल्य सम्बन्धी विषय गम्भीर राजनीतिक मुद्दा बन्दै आएको छ । यस्तोमा राष्ट्रपति बाइडेनले बिहिबार राति यसबारे आधिकारिक घोषणा गर्ने ह्वाइटहाउसले जनाएको छ ।
रुस विश्वकै दोस्रो ठूलो तेल निर्यातकर्ता भएकाले पनि यसमाथि जारी आर्थिक प्रतिबन्धले विश्वभरका बजार प्रभावित हुनेबारे चिन्ता व्यक्त गरिँदै आएको छ । यसबाहेकका अरु सबै ऊर्जा उत्पादक राष्ट्रहरु या त पूरा क्षमतामा काम गरिरहेका छन् या आपूर्ति बढाउन नसक्ने अवस्थामा छन् । त्यसैले पनि विश्वकै ठूलो तेल उत्पादक, अमेरिकाले यसको समाधान खोज्न लागेको हो ।
हाल अमेरिकाले हरेक दिन १ करोड १७ लाख ब्यारल तेल पम्प गरिरहेको छ तर विश्वव्यापी माग पूरा गर्न यति पर्याप्त छैन ।
यो मुद्दाबारे छलफल गर्न शुक्रबार अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी, (आइइए) ले आपतकालीन बैठक बस्ने भनेको छ । बेलायत, फ्रान्स, जर्मनी र जापान सहित आइइएका २९ सदस्य राष्ट्रहरुमध्ये कोको यस बैठकमा सहभागी हुनेछन् भने चाहिँ स्पष्ट गरिएको छैन ।