विराटनगर । विराटनगरको इतिहास दर्शाउने ‘ऐतिहासिक विराटनगर’ नामक पुस्तक लोकार्पण गरिएको छ ।
विराटनगर महानगरपालिकाका अनुसार सहर स्थापना भएको एक सय वर्ष पूरा भएको सन्दर्भ पारेर इतिहास झल्किने विषय समेटेर ‘ऐतिहासिक विराटनगर’ र भाषाशास्त्री स्वर्गीय ‘प्राज्ञ बालकृष्ण पोखरेलको स्मृतिग्रन्थ’ लोकार्पण गरिएको हो ।
पुस्तकमा विराटनगर स्थापना, औद्योगिक र राजनीतिक विकाससहित कला, संस्कृति, साहित्य र शैक्षिक विकास समेत समेटिएको छ । साहित्यकार तथा समालोचक दधिराज सुवेदीले अन्वेषण गरी पुस्तक लेखेका हुन् ।
भाषाशास्त्री पोखरेलको स्मृतिग्रन्थमा १६९ जना विशिष्ट साहित्यकार तथा पोखरेलसँगै काम गरेका व्यक्तित्वहरूले उनको स्मृतिमा लेखेका स्मरण तथा आलेख समेटिएको छ ।
पुस्तकको सम्पादन साहित्यकार विवश पोखरेलले गरेका छन् । विराटनगर महानगरका मेयर भीम पराजुलीले इतिहास खोज्ने र त्यसलाई संरक्षण गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको बताए । पुस्तकको लोकार्पण मेयर पराजुलीले गरेका हुन् ।