सान साल्भाडोर । मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा एकै दिन अपराधिक समूहहरूसँग सम्बन्धित दर्जनौँ संख्यामा हत्या भएपछि त्यहाँको संसद्ले आइतबार आपतकालको घोषणा गर्ने प्रस्ताव पारित गरेको छ ।
प्रहरीकाअनुसार शनिबार त्यहाँ ६२ जनाको हत्या भएको छ । सन् १९९२ मा गृह युद्ध अन्त्य भएयता चौबिस घन्टा भित्र भएको यो सबैभन्दा भयावह हिंसात्मक घटना हो । नयाँ संकटकालको कानुनअनुसार मानिसहरूको जमघटमा बन्देज लागेको छ भने प्रहरीले विना पक्राउ पुर्जी गिरफतार र सञ्चार अनुगमन गर्न सक्ने छन् ।
गत वर्ष ग्याङ फाइटको कारण १ हजार १४० व्यक्तिको हत्या भएको थियो । त्यसलाई तिस वर्षको इतिहासकै सबैभन्दा न्यून तथ्याङ्क मानिएको थियो । यद्यपि यो पनि १ लाख वासिन्दा १८ मृत्यु दर हुन आउँछ ।
गत नोभेम्बरमा पनि तीन दिनभित्र ४० जना भन्दा बढीको ज्यान गएको थियो । यो संकटकाल एक महिनाका लागि कार्यान्वयन हुने भएको छ । यसै शृङ्खलावद्ध हिंसालाई लिएर प्रहरीले मारा साल्भाट्रुचा (एमएस–१३) समूहका चारजना नाइकेलाई गिरफतार गरेको छ ।
सन् २०१९ मा निर्वाचित राष्ट्रपति नायिव बुकेले चुनाव प्रचार प्रसारको क्रममा संगठित अपराधविरुद्ध लड्ने र सुरक्षा व्यवस्थामा सुधार ल्याउने प्रतिवद्धता जाहेर गरेका थिए ।
उनले भनेका छन्, “मुलुकमा आम नरसंहारको घटना बढिरहेको छ । हामीले यसलाई नियन्त्रणमा ल्याउन निकै परिश्रम गर्दे आएका छौँ । सडकमा अपराधीहरूसँग मुकाबिला गर्दैगर्दा हामीले तिनीहरूलाई कसले लगानी गरिरहेका छन् भन्ने पनि पत्ता लगाउनुपर्दछ । हामीले सेना र गुप्तचर अधिकारीहरूलाई अपराधिक समूहहरूविरुद्ध निर्वाध रूपमा अघि बढ्ने वातावरण बनाउनु पर्दछ ।"
सरकारी निकायकाअनुसार एमएस–१३ र बार्रियो–१८ लगायतका अन्य अपराधिक समूहका करिब ७० हजार सदस्य आम नरसंहार , जवर्जस्ती चन्दा असुली र लागु औषध ओसार प्रसारका लागि जिम्मेवार छन् ।