काठमाडौँ । नेपाल सरकार, रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा सुरु भएको उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न भएको छ । तालिम प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा समापन भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशको हित र स्वार्थमा कुनै पनि किसिमको आँच आउन नदिन सबै सजग र प्रतिवद्ध हुन आवश्यक रहेको बताए । “राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउने सन्दर्भमा विभिन्न निकायहरुबीच, अन्तर–निकाय समन्वय र सहकार्य बलियो बनाउन आवश्यक छ,” उनले भने ।
शिक्षार्थीहरुलाई बधाई दिँदै प्रधानसेनापति प्रभुराम शर्माले बहुआयामिक चुनौतीहरुको उचित व्यवस्थापनको लागि राजनीतिक, कूटनीतिक, रणनीतिक तथा शैक्षिक वृत्तलगायत समग्रमा सामरिक संस्कृतिको विकास हुनुपर्ने र यसलाई सैनिक चासोको विषय मात्र नभई समग्रमा बुझ्न र अभ्यास गर्न जरुरी भएको बताए ।
२०७२ बाट सुरु गरिएको यस तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय एवं नेपाल रेडक्रसका वरिष्ठ अधिकारी र संचारकर्मीगरी जम्मा २८ जनाको सहभागिता रहेको थियो । हालसम्म १४३ जनाले यस तालिममा सहभागिता जनाइसकेका छन् ।