मस्को । रुसको नियन्त्रणमा रहेको युक्रेनको बन्दरगाह सहर बर्दिआन्सकमा एउटा रुसी युद्धपोत ध्वस्त भएको र अन्य दुईवटा जहाज क्षतिग्रस्त भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । युक्रेनी सेनाले बिहीबार बिहानै 'ओर्स्क' नामक युद्धपोतलाई आफ्ना फौजले ध्वस्त पारेको भिडियो फुटेज पोस्ट गरेको छ ।
तर, कसरी सो जहाजमा विस्फोट र आगलागी भयो भन्नेबारे विस्तृत विवरण उल्लेख गरिएको छैन ।
रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको चौँथो दिनमा कब्जा गरेको मारिउपोल बन्दरगाहको पश्चिमतर्फ बर्दिआन्सक रहेको छ । रुसले यस बन्दरगाहलाई फौजलाई आवश्यक उपकरणहरू ल्याउने अखडाका रूपमा प्रयोग गरिएको बताएको छ ।
गत साता त्यहाँ ओर्स्क पुग्दा पहिलोपटक त्यस स्थानमा रुसी योद्धपोत पुगेको भन्दै रुसी सैनिक टेलिभिजनले ओर्स्कलाई स्वागत गर्दै खुसीयाली प्रकट गरेको थियो ।
युक्रेनका उपरक्षामन्त्री हान्ना माल्यारले सेनाले २० वटा ट्याङ्क, ४५ वटा सशस्त्र सवारीसाधन र ४०० जना फौज बोक्न सक्षम युद्धपोत ध्वस्त पार्न सफल भएको युक्रेनी टेलिभजनलाई बताएका छन् । रुसका लागि बर्दिआन्सकको ठूलो सामरिक महत्व रहेको छ ।
बीबीसीबाट ।