काठमाडौं । एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको सहरी विकास मन्त्रालयले जनाएको छ ।
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत सहरी विकास नीतिको मस्यौदा अन्तिम चरणमा रहेको र यस कार्यक्रमका लागि थप बजेट आवश्यक रहेको बताएकी छन् ।
उनले एकीकृत सहरी विकास कार्यक्रम शीर्षकमा थप बजेट दिन राष्ट्रिय योजना आयोगलाई आग्रह गरेकी छन् ।
बिहीबार मन्त्रालयमा आयोजित सघन सहरी विकास कार्यक्रमको निरन्तरता सम्बन्धी छलफललाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले मन्त्रालयले केही नयाँ कार्यक्रमका लागि बजेटको पहल गरिरहेको जानकारी दिइन् ।
उनले भनिन्, “एकीकृत सहरी विकास कार्यक्रम नयाँ हो । यसलाई बजेटमार्फत यस वर्षको कार्यक्रम र बजेटमा समावेश गरेर अघि बढौँ ।”
यसैगरी, उनले युटिलिटी कोरिडोर ऐनको मस्यौदा अन्तिम चरण पुगेको बताउँदै मन्त्रालयले नयाँ कार्यक्रमको बारे ल्याउने विषयमा गृहकार्य गरिरहेको जानकारी दिइन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वराज पौडेलले मन्त्रालयले शहरी सौन्दर्य बढाउने खालका कार्यक्रम अघि बढाउनुपर्ने मत राखे । मन्त्रालयले अघि सारेको योजनाको बारेमा आफू सकारात्मक रहेको बताउँदै उनले भने, “सहरी क्षेत्रको सुन्दरता बढाउन पार्क, कृत्रिम ताल लगायतका कार्यक्रमका लागि आयोग बजेट छुट्याउन तयार छ ।”