काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ‘नेपाली कांग्रेसको फेरो समातेर पारि तर्न खोजिरहेको’ बताएका छन् ।
बुधबार कांग्रेस इलाम निर्वाचन क्षेत्र नम्बर–१ प्रदेशसभा (ख) ले आयोजना गरेको कार्यक्रममा उनले इलामका कांग्रेस नेता–कार्यकर्ताले आफ्नै उमेदवारलाई भोट हाल्न पाउने दाबी गरे ।
सहमहामन्त्री आङ्देम्बेले चुनावी गठबन्धन भएर एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाललाई भोट हाल्नुपर्ने त्रास नपाल्न कार्यकर्तालाई आग्रह पनि गरे ।
“गठबन्धनको नाममा झलनाथ खनाल आउने भन्ने चिन्ता साथीहरूलाई छ । तपाईंहरूलाई लागेजस्तो उहाँलाई कांग्रेसले बोक्दैन,” उनले भने, “यो वा त्यो नाममा झलनाथ खनाल चुनाव लड्न आउनु हुन्न, यो दिवा सपना हो । यो लेखेर राख्नुहोस् कि उहाँलाई तपाईंहरूले भोट हाल्नु पर्दैन, यो मेरो वचन भयो ।”
जतिसुकै ठूलो भए पनि कम्युनिस्टले जनताको दुःखलाई कहिल्यै नबुझ्ने उनको भनाइ छ ।