काठमाडौं । दुर्घटनामा परेको चिनियाँ विमानसँग सम्बिन्धत उद्धारकार्य जारी छ । उद्धारकर्मी घटनास्थलमा पुगिसकेका छन् । यात्रीका आफन्त भने सुखद खबरको पर्खाइमा विमानस्थलम भेला भएर बसेका छन् ।
सोमबार दिउँसो दुर्घटनामा परेको चाइना इस्टर्न फ्लाइट एमयू ५७३७ नामक विमानमा १३२ यात्रु सवार थिए । गुआङजी प्रान्तको एक पहाडमा जंगलबीच दुर्घटनाग्रस्त भएको हो । दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । उद्धारका लागि घटनास्थलमा सयौँ अधिकारी पठाइएको छ ।
दुर्घटनाले यति बेला पूरै चीनलाई स्तब्ध बनाएको छ । राष्ट्रपति सी चिनफिङले पनि दुःख व्यक्त गर्दै ठूलोस्तरमा अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
स्थानीय मिडिया रिपोर्टका अनुसार विमानका केही अंशहरू ठाउँठाउँमा भेटिएका छन् । तर, दुर्घटनास्थल अत्यन्तै विकट पहाडी भेगमा भएकाले खोजीकार्यमा कठिनाइ भइरहेको बताइएको छ ।
यात्रुका लगेज, वालेट, परिचयपत्रलगायत सामान पनि फेलापरेको बताइएको छ । दुर्घटनापछि जंगलमा भीषण आगलागी भएको थियो । यद्यपि, अझैसम्म क्षतिको यकिन विवरण प्राप्त भएको छैन । विमानमा सवार १३२ जना नै जीवित नरहेको हुन सक्ने अनुमान छ ।
परिवार र साथीभाइ ग्वाङजाउको अन्तर्राष्ट्रिय विमानस्थलमा केही खबर आउने आसमा पर्खिएर बसेका छन् । चाइना इस्टर्न एयरलाइन्स कुनमिङबाट उडेको थियो । त्यसको एक घण्टापछि दुर्घटनामा परेको हो ।
स्थानीय रिपोर्टका अनुसार विमानमा एक किशोरसहित ६ मानिसको समूह ग्वाङजाउमा एक अन्त्येष्टि कार्यक्रममा उपस्थित हुन यात्रारत थियो । एक महिलाका अनुसार उनकी दिदी पनि त्यही समूहमा थिइन्, तर अन्तिममा यात्रा गर्न पाइनन् । उनी भन्छिन्, “अहिले म तर्सिएको छु ।”
विमानस्थलमा पर्खिरहेका अर्का एक व्यक्तिले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै भने, “मेरा सहकर्मी पनि त्यहाँ थिए । उनको परिवारमा अहिले रुवाबासी चलिरहेको छ । उनकी आमालाई त यो सबै विश्वासै लागिरहेको छैन । किनकि, उनका छोरा भर्खर २९ वर्षका थिए ।” बीबीसीबाट ।