![पीएनजीविरुद्ध खेल्दै नेपाल, ब्याटिङमा सुधारको अपेक्षा](https://12khari.top/uploads/posts/Nepali Cricket Team1645258390.jpg)
काठमाडौं । ब्याटिङमा लय भेट्टाउन संघर्ष गरिरहेको नेपाली क्रिकेट टोलीले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीविरुद्ध सुधारिएको प्रदर्शन गर्ने अपेक्षा गरेको छ ।
नेपालले पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको ओमान भ्रमणमा हो । त्यसपछि भएका आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायर र श्रीलंकामा सम्पन्न अभ्यास खेलमा नेपालको ब्याटिङ प्रदर्शन कमजोर रह्यो । तर, शारजाहमा पीएनजीविरुद्ध नेपाली ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
‘‘श्रीलंकामा खराब समय गुज्रिसकेको छ । यहाँ आएर अभ्यासमा हामीले ब्याटिङमा पनि सुधार गरेका छौं । श्रीलंका र शाहजाहको पीचमा धेरै फरक छ,’’ नेपालका कप्तान सन्दीप लामिछानेले नेप्लेजसँग भनेका छन्, ‘‘यहाँको कन्डिसन र पीचको अवस्था हेर्दा ब्याटिङमा पनि राम्रो हुने अपेक्षा गर्न सकिन्छ । अब हामीलाई गल्ति गर्ने छुट पनि छैन ।’’
श्रीलंकामा नेपालले चार अभ्यास खेल खेलेको थियो । चारमध्ये तीन खेल जित्न सफल नेपालको ब्याटिङ प्रदर्शन भने कमजोर रह्यो । श्रीलंका नेभी स्पोर्ट्स क्लबविरुद्धको पहिलो खेलमा नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएको थियो । दोस्रो खेलमा ४३.४ ओभरमा सबै विकेट गुमायो । श्रीलंका पुलिस क्लबविरुद्धको तेस्रो अभ्यास खेलमा भने नेपालले पुरै ओभर खेलेको थियो । आसिफ शेख, कुशल भुर्तेल, रोहितकुमार पौडेल र करण केसीले अर्धशतक बनाएका थिए । श्रीलंका कम्बाइन्ड–११ विरुद्धको अन्तिम खेलमा नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाएको थियो भने खेल ९२ रनले हारेको थियो ।
नेपालका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले पनि श्रीलंकामा नेपालको ब्याटिङ निराशजनक रहेको स्विकार गरे । तर, उनले सारजाहमा नेपाली ब्याट्सम्यानले सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।
![Royal Enfield Island Ad](https://baahrakhari.com/uploads/bigyaapan/15756600.gif)
‘‘श्रीलंकामा सम्पन्न चारै खेलमा हामीले ५० ओभर ब्याटिङ गर्न सकेनौं । त्यो निराशजनक थियो । तर, सारजाहको पीच ब्याटिङ मैत्री छ । त्यसैले यहाँ खेलाडीले राम्रो गर्छ भन्ने विश्वास छ,’’ नेपालका प्रशिक्षक पुबुदुले नेप्लेजसँग भनेका छन्, ‘तथापि, श्रीलंकामा हाम्रो तयारी राम्रो रह्यो । खेलाडीहरु आजको खेलका लागि तयार छन् । पीएनजी पछिल्लो समय खराब लयबाट गुज्रिएको छ । तर, हामी पीएनजीलाई सहज रुपमा लिदैनौं । यो शृंखलामा हाम्रो पहिलो खेल पनि हो । यहाँ फ्ल्याट पिच छ । त्यसैले ठूलो स्कोर बनाउने अवसर पनि छ ।’’
आईसीसी क्रिकेट विश्वकप लिग–२ मा पीएनजीले १३ खेलमा एक अंक पनि जोड्न सकेको छैन । पीएनजी पुछारमा छ भने ८ खेलबाट ८ अंक जोडेको नेपाल पुछारबाट दोस्रोमा छ । ओमान आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखला खेल्नुअघि नेपालले पीएनजीसँग दुई खेलको एकदिवसीय शृंखला खेलेको थियो । त्यसमा नेपाल २–० ले विजयी भएको थियो ।
पहिलो खेल २ विकेटले जितेको नेपालले दोस्रो खेल १५१ रनले जितेको थियो । त्यतिबेला पीएनजीविरुद्ध रोहितकुमार पौडेल, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, सन्दीप लामिछानेले राम्रो प्रदर्शन गरेका थिए । पहिलो खेलमा ओपनर जोडीको प्रदर्शन पनि राम्रै थियो । ती सबै यूएई भ्रमणमा पनि छन् । तर, ज्ञानेन्द्र अहिले लय भेट्टाउन संघर्ष गरिरहेका छन् ।
नेपालका कप्तान सन्दीपले पीएनजीको पछिल्लो प्रदर्शन कमजोर भए पनि आफूहरुले सहज रुपमा नलिने बताएका छन् । उनी भन्छन्, ‘‘हामीले कुनै पनि कुरालाई सहज रुपमा लिएका छैनौं । अगाडि जे भयो त्यो सकिसक्यो । अबको खेल हामीले जिरोबाट सुरु गर्नेछौं र आशा गरौं राम्रो नतिजा आउनेछ ।’’
नेपालको सम्भावित ११ः
कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, आरिफ शेख, करण केसी, विवेककुमार यादव, सन्दीप लामिछाने, कमलसिंह ऐरी, सागर ढकाल ।
नेपाली टिमः
सन्दीप लामिछाने (कप्तान), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कमलसिंह ऐरी, विवेककुमार यादव, सागर ढकाल, पवन सर्राफ, करण केसी, विनोद भण्डारी, रोहितकुमार पौडेल, सोमपाल कामी, विक्रम सोब, भिम सार्की ।