बेइजिङ । रुसले आफ्नो देशसँग सैन्य र आर्थिक सहयोग मागेको अमेरिकी दाबी झुटो भएको चीनले बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले रुसले युक्रेनमा गरेको विशेष सैन्य कारबाहीका लागि चीनसँग सैन्य सहयोग खोजेको आरोप मिथ्या सूचना भएको बताए ।
“यस विषयमा अमेरिकाले फैलाएको आरोपहरू मिथ्या सूचना हुन्,” सोमबारको प्रेस ब्रिफिङमा झाओले भने ।
पछिल्लो समय वासिङ्टनले युक्रेनको घटनाक्रमलाई लिएर चीनको बारेमा सुनियोजित रूपमा गलत सूचना प्रवाह गरिरहेको उनले बताए । युक्रेनमा चीनको अडान सुसंगत र स्पष्ट रहेको उनको भनाइ छ ।
बेइजिङले शान्ति स्थापना र वार्तालाई अगाडि बढाउने प्रक्रियामा सँधै रचनात्मक भूमिका खेलेको प्रवक्ता झाओले बताए ।
“अहिलको अवस्थामा सबै पक्षहरूले संयमता अपनाउनुपर्छ, स्थितिलाई निरुत्साहित गर्न योगदान पुर्याउनुपर्छ र आगोमा घ्यू थप्नु हुँदैन, बरु कूटनीतिक समाधानलाई बढवा दिनुपर्छ र तनाव बढाउनु हुँदैन,” उनले भने ।
यसअघि अमेरिकाले रुसले चीनसँग सैन्य र आर्थिक सहयोग मागेको दाबी गरेको थियो । पश्चिमा प्रतिबन्ध छल्न रुसलाई सहयोग गरे चीनले कठोर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो ।
बीबीसी र तासबाट ।