काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताएका छन् । नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई सम्बोधन गर्दै मन्त्री पौडेलले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे ।
उनले भने, “शिक्षा क्षेत्रलाई कोरोनाले महत्वपूर्ण पाठ सिकाएको छ । यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गरी अध्ययन अध्यापनका नवीन विकल्पहरू खोज्दै जानुपर्ने आवश्यकताबोध भएको छ ।”
मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योगविज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवम् मानसिक स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अन्तर्ज्ञानहरूको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने उनको भनाइ छ ।
संस्कृत विश्वविद्यालयले सन् २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन गर्ने भएको छ । मन्त्री पौडेलले विश्वविद्यालयको उक्त प्रयासको सराहना गर्दै मन्त्रालय सकारात्मक रहेको बताए ।