काठमाडौं । नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको एनसीएचएल बैंक सेन्ट्रल तथा कर्पोरेट पे प्रणालीमार्फत गरिने सरकारी राजस्व भुक्तानीको प्रतिकारोबार सीमा वृद्घि गरिएको छ ।
विभिन्न सरकारी निकाय तथा बैंक, वित्तीय संस्थाको समन्वय एवं नेपाल राष्ट्र बैंकको स्वीकृतीपछि कारोबार सीमा वृद्धि गरिएको कम्पनीले जनाएको छ । अब बैंक/वित्तीय संस्थाका ग्राहकहरूले सरकारी राजस्व भुक्तानी गर्दा एनसीएचएल बैंक सेन्ट्रलमार्फत दुई अर्ब रुपैयाँसम्म र कर्पोरेट पेमार्फत पब्लिक नेटवर्कबाट एक करोड र प्राइभेट नेटवर्कबाट पाँच करोडसम्म भुक्तानी गर्न सकिने जनाइएको छ ।
वृद्धि गरिएको प्रतिकारोबार सीमा पठाउने र पाउने बैंक/वित्तीय संस्था एउटै रहेको खण्डमा लागु हुनेछ भने पाउने र पठाउने बैंक/वित्तीय संस्था फरक रहेको खण्डमा हाल कायम रहेको नन रियल टाइम भुक्तानी ३० करोडसम्म र रियल टाइम भुक्तानी २० लाखसम्म नै लागु हुने कम्पनीले जनाएको छ ।
थप गरिएको कारोबार सीमाले नेपाल सरकारको डिजिटल माध्यमबाट राजस्व संकलन गर्ने पहललाई थप टेवा पुग्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।