काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ईपीएसअन्तर्गत रोजगारीका लागि कोरिया जाने पर्खाइमा रहेका नेपाली युवालाई छिटो लैजान आग्रह गरेका छन् ।
कोरियाको मानव संशाधन विकास बोर्ड (एचआरडी) कोरियाका नेपाल प्रतिनिधि किम उन डकसँगको भेटमा रोजगार अनुमति प्रणाली (ईपिएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरी बसेकालाई छिटो लैजान आग्रह गरेका हुन् । उनले व्यवसायिक उडान खुला गरी छिटो पठाउने प्रवन्ध गर्न कोरियाली पक्षसँग आग्रह गरे । अहिले चार्टर उडानमार्फत कोरिया लैजाने गरिएकोमा व्यवसायिक उडान खुला भएपछि नियमित हुनेछ भने कम शुल्कमा जान पाइनेछ ।
एचआरडी कोरियाका नेपाल प्रतिनिधि डकले अहिले दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिरहेको बताए । कोरोना महामारीका कारण रोकिएका कामदार छिटो ल्याउन कोरिया सरकार सकारात्मक भए पनि महामारीका कारण समस्या भएको उनले बताए । विदेशी श्रमिक अनिवार्य क्वारेन्टिन बस्नुपर्ने भएकोले क्वारेन्टिन अभावले धेरै श्रमिक एकैपटक लैजान नसकिएको उनले बताए । व्यवसायिक उडान खुला गर्न आवश्यक प्रकृया सुरु गरिएको जानकारी दिँदै छिटो संचालन हुने विश्वास व्यक्त गरे ।
यसअघि कोरोना संक्रमणको जोखिमका कारण माघको दोस्रो सातादेखि श्रमिक लैजान रोकिएकोमा हालै पुनः खुला गरिएको थियो । करिब सात हजार श्रमिक कोरिया जान छनोट भएकोमा कोरोना संक्रमणपछि ९८४ जना गइसकेका छन् भने आज १७४ जना जाँदैछन् । यसपछि मार्च १६ गते १७० जना जानेछन् ।
