किभ । रुसले युक्रेनमा सर्वसाधारणमाथि लक्षित गर्दै अस्पताल, नर्सरी र विद्यालयहरूजस्ता स्थानमा आक्रमण गरिरहेको युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिनाले बताएकी छन् ।
उनले बीबीसीलाई भनेकी छन्, "युक्रेनी सेनाले कडा प्रतिकार गर्न थालेपछि रुसी फौजले सर्वसाधारणमाथि भीषण हमला गर्न थालेको छ । रुसले स्थल र वायु दुवैतिरबाट आक्रमण गर्दै आफ्नो यस 'आतंककारी योजना' कार्यान्वयन गरिरहेको छ ।"
विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले युक्रेनका स्वास्थ्य स्याहार क्षेत्रमा भएका थुप्रै आक्रमणमा धेरै व्यक्तिको ज्यान गएको बताएको छ । साथै धेरैजना घाइते भएको पुष्टि भएको डब्ल्युएचओका महानिर्देशक टेड्रोस एधानोम घेब्रियससले आइतबार बताएका छन् ।
युक्रेनकी उपप्रधानमन्त्री ओल्हा स्टेफानिसिना
बेलायतले पनि आफ्नो गुप्तचर सूचनाको आधारमा भनेको छ, "रुसले युक्रेनका थुप्रै घना आवादीयुक्त क्षेत्रमा आक्रमण गरिरहेको छ । रुसले यसअघि विगतमा सन् १९९९मा चेच्न्या र २०१६ मा सिरियामा यसरी नै एकैपटक जमिन र हवाई आक्रमण नीति अपनाएको थियो ।"
संयुक्त राष्ट्रसंघका अनुगमनकर्ताहरूले २४ फ्रेब्रुअरीमा रुसी आक्रमण सुरु भएयता शनिबारसम्ममा ३५१ जना सर्वसाधारणको ज्यान गइसकेको पुष्टि गरेका छन् । तर, वास्तविक तथ्याङ्क यो भन्दा धेरै हुनसक्ने अनुमान गरिएको छ ।
यसैगरी शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघको उच्च नियोग (यूएनएचसीआर)ले रुसी आक्रमण सुरु भएयता १५ लाख भन्दा बढी मानिसले युक्रेन छाडिसकेको बताएको छ ।
तर, रुसले सर्वसाधारणमाथि लक्षित हमलाको आरोप खण्डन गर्दै आफूले 'राष्ट्रवादी' र 'नव–नाजी' युक्रेनीहरूविरुद्ध विशेष सैनिक अभियान चालिरहेको दाबी गरेको छ ।
बीबीसीबाट ।