किभ । संयुक्त राष्ट्र संघ र युक्रेनी अधिकारीहरूले युक्रेनस्थित युरोपकै सबैभन्दा ठूलो पारमाणविक ऊर्जा भट्टीमा रुसी आक्रमण हुँदा रेडियोधर्मी विकीरण चुहावट नभएको बताएका छन् । अग्नि नियन्त्रकहरूले सो भट्टीमा हमलाको कारण सुरु भएको आगो निभाउन सफल भएका छन् ।
विश्वव्यापी कडा आलोचनाको बाबजुद पनि रुसी फौजले शुक्रबार पनि आक्रमणलाई तीव्र पारेका छन् ।
अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए)का महासचिव राफेल मारियानो ग्रोस्सीले भनेका छन्, “रुसले जापोरिझझिया भट्टीमा आक्रमण गरेको भवन भट्टटीको भाग नभई भट्टीको तालिम केन्द्र मात्रै हो ।"
स्विडेनदेखि चीनसम्मका पारमाणविक अधिकारीहरूले ग्रोस्सीले जस्तै यस घटनामा रेडियोधर्मी विकीरण चुहावट नभएको दाबी गरेका छन् ।
युक्रेनी सरकारी अधिकारीहरूले रुसी फौजले सो क्षेत्रको सम्पूर्ण भागमा नियन्त्रण जमाएको तर अझैसम्म पनि त्यहाँ कार्यरत कर्मचारीहरूले निरन्तर रूपमा भट्टी सञ्चालन गरिरहेको बताएका छन् । ग्रोस्सीले पनि ती अधिकारीहरूको भनाइलाई पुष्टि गरेका छन् ।
विकीरणसम्बन्धी सत्य तथ्य पुष्टि नहुन्जेल विश्वभरि यो घटना गम्भीर चिन्ताको विषय बनेको थियो ।
किनभने विगतमा युक्रेनको चेर्नोबिल पारमाणविक भट्टीमा भएको दुर्घटनाको स्मरण र सन्त्रास सबैमा बाँकी नै छ । रुसले सो भवनमा युक्रेनी पक्ष आफैँले आगो लगाएको भन्दै यस घटनाको जिम्मेवारीबाट पन्छिन खोजेको छ ।