जनकपुरधाम । शनिबारदेखि जनकपुर–पोखरा हवाई सेवा सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख योगेन्द्रनाथ कुँवरले सातामा तीन दिन चल्नेगरी हवाई सेवा सुरु हुन लागेको जानकारी दिए ।
भोलि (शनिबार) गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मधेस प्रदेशको भ्रमणमा आउन लागेका छन् । मुख्यमन्त्री नेपालीसहित २१ जना प्रतिनिधि मधेस आउन लागेका हुन् ।
जनकपुरधाम विमान स्थलमा जनकपुरमा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको टोलीले गण्डकी सरकारका प्रतिनिधिलाई स्वागत गर्ने छ । दुवै प्रदेशका राजधानीबीच सिधा हवाई सेवा सुरु भएपछि पर्यटन प्रवर्द्धन गर्न गण्डकीका मुख्यमन्त्री जनकपुरधाम आउन लागेका हुन् ।
उनको जनकपुरधाम भ्रमणले जनकपुरधाम र पोखरालाई पर्यटकीय राजधानीको रूपमा जोड्न टेवा पुग्ने विश्वास गरिएको छ ।