काठमाडौं । नबिल बैंकले उद्यमशीलता तथा दिगो आर्थिक विकासका लागि पाल्पाको तानसेन नगरपालिका, रिब्दिकोट गाउँपालिका र तिनाउ गाउँपालिकाबीच सहकार्य सम्झौता गरेको छ ।
उद्यमशीलता विकास, दिगो आर्थिक विकास, वित्तीय साक्षरता साथै वित्तीय पहुँच प्रवर्द्धन गर्ने उद्देश्यले हेफर प्रोजेक्ट नेपालको सहयोगमा नबिल बैंक र तानसेन नगरपालिका, रिव्दीकोट गाउँपालिका, तिनाउ गाउँपालिका पाल्पाबीच सम्झौता भएको जनाइएको छ ।
नविल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालले अवलम्बन गरेको संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यलाई बैंकको तर्फबाट सहयोग गर्ने उदेश्यका साथ बैंकले लिएको दिगो बैकिङको पहलमा यो सम्झौता कोशेढुंगा साबित हुने बताए । यसले स्थानीय स्तरमा उद्यमशीलता विकास गर्दै आर्थिक रूपान्तरणमा सहयोग गर्ने पनि उनले बताए ।
हेफर इन्टरनेसनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले नबिल बैंकसँगको सहकार्यबाट उद्यमशिलता विकासमा ठुलो टेवा पुग्ने भन्दै कृषि तथा पशु उद्यमशिलताको मूल्य शृङ्खलालाई अझ बलियो बनाउदै हेफर इन्टरनेसनले यस सम्झौता गरेको बताए ।
नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन बैंकले २०७८ असार १५ गते धान दिवसको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो ।