काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले विश्वले रुसलाई जवाफदेही बनाउने बताएका छन् । युक्रेनको पूर्वी भागमा सैन्य कारबाही गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाका बारेमा प्रतिक्रिय दिँदै उनले यस्तो बताएका हुन् ।
बाइडेनले यसलाई ‘रुसी सैन्य बलद्वारा गरिएको अकारण र अनुचित आक्रमण’ भनेका छन् । पूरा विश्वको प्रार्थना युक्रेनका जनताको पक्षमा रहेको उनको भनाइ छ ।
“राष्ट्रपति पुटिनले पूर्वनियोजित युद्ध रोजेका छन्, जसले जीवनको विनाशकारी क्षति र मानवीय पीडा ल्याउनेछ,” उनले भने, “यस आक्रमणले ल्याउने मृत्यु र विनाशका लागि रुस एक्लै जिम्मेवार छ र संयुक्त राज्य अमेरिका र यसका सहयोगी र साझेदारहरूले एकजुट र निर्णायक रूपमा जवाफ दिनेछन् । विश्वले रुसलाई जवाफदेही बनाउनेछ ।”
बाइडेनले रुसले भोग्नुपर्ने नतिजाबारे बिहीबार अमेरिकीहरूलाई सम्बोधन गर्ने बताएका छन् । उनले ह्वाइट हाउसबाट परिस्थितिको अनुगमन गर्ने र रुसका लागि ‘थप परिणामहरू’ घोषणा गर्नुअघि जी७ नेताहरूसँग छलफल गर्ने बताए । बीबीसीबाट ।