काठमाडौं । विश्वभर हुने मृत्युका प्रमुख पाँच कारणमध्येको एक ‘क्यान्सर’को औषधि नेपालमा पनि उत्पादन हुन थालेको छ । नेपाली औषधि उत्पादक कम्पनी टिजिग फार्मा प्रालिले स्पाइनललगायतका क्यान्सरकाे उपचारमा प्रयाेग हुने ती प्रकारका औषधिको उत्पादन तथा वितरण सुरु गरेको हो ।
औषधि व्यवस्था विभागकाअनुसार टिजिग फार्मा नेपालमा क्यान्सरको औषधि उत्पादनका लागि अनुमति पाउने पहिलो नेपाली कम्पनी हो ।
कस्तो छ नेपालमै उत्पादित क्यान्सरको औषधि ?
हाल नेपालमै उत्पादन भएको क्यान्सरको औषधि ट्याब्लेट र क्याप्सुलका रूपमा बजारमा आएको छ । टिजिग फार्माका कार्यकारी निर्देशक शैलेस वैद्यकाअनुसार इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने कम्पनीको योजना छ । सकेसम्म बढी प्रकारका क्यान्सरविरुद्ध प्रयोग हुने औषधिहरू उत्पादन गर्ने कम्पनीको लक्ष्य रहेको पनि वैद्य बताउँछन् ।
सो औषधिका लागि आवश्यक पर्ने कच्चा पदार्थ, मेसिन, उपकरण आदिका लागि भने भारतको एसपी एक्युर ल्याब (एसपीएएल)सँग सहकार्य गरिएको र औषधि उत्पादन गुणस्तर नियन्त्रणका लागि समेत एसपीएएलका प्राविधिकहरूको नियमित उपस्थिति रहेको वैद्यको भनाइ छ ।
स्वदेशी उत्पादनले कति राहत ?
टिजिग फार्माले हाललाई क्यान्सरको उपचारमा प्रयोग हुने तीनवटा औषधिका लागि मात्रै औषधि व्यवस्था विभागको अनुमति पाएको छ । विभागका प्रवक्ता सन्तोष केसीकाअनुसार क्यान्सरको उपचारमा प्रयोग हुने अन्य औषधिका लागि पनि टिजिग फार्माले अनुमति प्रक्रिया अघि बढाएको छ । प्रक्रिया पूरा हुनासाथ सो कम्पनीलाई अन्य प्रकारका औषधि उत्पादनको अनुमति दिइनेछ । हाललाई नेपाली बजारलाई लक्षित गरी उत्पादन गरिएका औषधि निर्यातका लागि टिजिगले थप एउटा औषधि निर्यातका् अनुमतिसमेत पाइसकेको निर्देशक वैद्यले जानकारी दिए ।
क्यान्सरबारे अध्ययन गर्ने विश्व स्वास्थ्य संगठनको संस्था ग्लोबोक्यानकाअनुसार नेपालमा बर्सेनि २० हजारभन्दा बढी क्यान्सरका रोगी थपिने गरेका छन् भने १३ हजार जनाको मृत्यु हुने गरेको छ । औषधि व्यवस्था विभागकाअनुसार नेपालमा हाल क्यान्सको उपचारमा प्रयोग हुने ३५ प्रकारका औषधिले प्रयोग अनुमति पाएका छन् । ती औषधि भारत र बंगलादेश र तेस्रो मुलुकबाट आयात हुने गरेको विभागका प्रवक्ता केसी बताउँछन् ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे क्यान्सरको औषधि नेपालमै उत्पादन सुरु हुनुलाई स्वदेशमै जुनसुकै औषधि बन्छ र बनाउन सकिन्छ भन्ने उदाहरण भएको बताउँछन् । पछिल्लोपटक क्यान्सरको औषधि उत्पादन हुनुले स्वदेशी उद्योगको औषधिमा आत्मनिर्भरता हुनुपर्छ भन्ने नीतिमा इट्टा थपेको पाण्डे बताउँछन् ।
वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा. मदनकुमार पियाले प्रविधि र लगानी भित्र्याई स्वदेशमै क्यान्सरविरुद्धको औषधि उत्पादन हुनु नेपालीका लागि आशाको किरण भएको र टिजिगले उत्पादन गरेका सबै औषधि स्वदेशी नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए ।
स्वदेशमा उत्पादित औषधिको मूल्य कस्तो छ ?
कम्पनीका कार्यकारी निर्देशक वैद्य टिजिग फार्माबाट उत्पादन हुने एन्टीक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने बताउँछन् ।
"स्वदेशमै उत्पादन भएको हिसाबले केही न केही सस्तो नै पर्छ," उनी थप्छन्, "हामीले अहिले उत्पादन गरेका औषधि यसअघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो । अब त्यो बाध्यता हट्नेछ । उही औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत अवश्य दिनेछौँ । अर्को कुरा नेपालमै उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुनेछ । औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन," उनले भने ।