काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले राप्रपा नेपाल पुनर्जागृत गर्ने भएका छन् ।
उनले आज एक विज्ञप्ति जारी गर्दै यही फागुन ७ गते काठमाडौंमा राप्रपा नेपालको घोषणासभा हुने जानकारी दिएका छन् । हिन्दुराष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मूल एजेन्डा रहने उनको भनाइ छ ।
“राप्रपा नेपालको विरासतलाई निरन्तरता दिँदै अबदेखि ‘हिन्दुराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेन्डा हुनेछ । जनताको भावना र देशको धरातलीय यथार्थलाई दृष्टिगत गर्दै केही मान्यताहरू, प्राथमिकताहरू र कार्यनीतिमा हामी समयानुकूल परिमार्जन गर्नेछौँ,” विज्ञप्तिमा भनिएको छ ।
आफ्नो पार्टी आसन्न स्थानीय तहको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने पनि विज्ञप्तिमा उल्लेख छ ।