इस्लामाबाद । पाकिस्तानमा तन्त्र विधिबाट उपचार गर्ने भन्दै एकजनाले गर्भवती महिलाको निधारमा किला ठोकेका छन् । निधारमा ठोकिएको पाँच सेन्टीमिटर लामो किलो निकाल्ने प्रयास असफल भएपछि ती महिला उपचारका लागि आफैँ पेशावर सहरको एउटा अस्पतालमा आइपुगेकी थिइन् ।
सुरुमा उनले डाक्टरहरूलाई निधारमा आफैँले किला ठोकेको भन्दै वास्तविकता लुकाउन खोजेकी थिइन् । तर, पछि उनले यस्तो विधिबाट उपचार गर्दा छोरो नै जन्मिने भन्दै एकजना तान्त्रिकले आफ्नो निधारमा किला ठोकेको बताएकी थिइन् ।
ती महिलालाई चोट लागेको एक्स–रे अनलाइनमा भाइरल हुन थालेपछि प्रहरीले अनुसन्धान सु गरेको छ । एक्स–रेमा निधारभित्र किला अड्केको स्पष्ट देखिन्छ ।
लेडी रिडिङ हस्पिटलका डाक्टर हैदर खानले उपचारका लागि आउँदा उनी पूर्ण रूपमा होसमा रहेको तर अत्यन्तै पीडामा रहेको बताएका छन् ।
अस्पतालका कर्मचारीलाई उद्धृत गर्दै स्थानीय अखबार डनले ती महिलाले एकजना छिमेकीको सल्लाहअनुसार तान्त्रिकलाई भेटेको जनाएको छ । ती महिलाले पहिलै तीनजना छोरी जन्माइसकेको र यदि फेरि पनि छोरी पाएमा उनका श्रीमानले सम्बन्धविच्छेद गर्ने धम्की दिएका थिए । त्यसै डरका कारण तीन महिने गर्भवती उनी तान्त्रिकको शरणमा पुगेकी थिइन् । ती तान्त्रिकलाई प्रहरीले खोजिरहेको छ ।
केही दक्षिण एसियाली गरिब मुलुकहरूमा अझै पनि छोरीले भन्दा छोराले राम्ररी कमाउने र आमाबुबालाई राम्ररी पाल्ने विश्वास गरिन्छ । पाकिस्तानका केही भागमा अझै पनि तन्त्रमन्त्रमा मानिसहरू धेरै विश्वास गर्छन् । विशेषगरी उत्तर–पश्चिमी आदीवासी क्षेत्रमा यो अन्धविश्वास निकै फैलिएको छ ।
बीबीसीबाट ।