काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच छलफल भएको छ ।
बिहीबार बिहान भएको भेटमा दुई नेताबीच सत्ता गठबन्धन, एमसीसी परियोजना, संसद्को अवरोध हटाउने तथा चुनावी गठबन्धनका विषयमा छलफल भएको छ । कोइरालाका सहयोगी दिनेश थपलियाका अनुसार छलफलमा चुनावी गठबन्धनका विषय, संसद्को अवरोध हटाउने र एमसीसी परियोजनाको विषयले प्रथामिकता पाएको हो ।
थपलियाका अनुसार प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका कोइरालाले चुनावी गठबन्धन गर्न नहुनेमा जोड दिए । कोइरालाले प्रचण्डलाई आफू चुनावी गठबन्धनको पक्षमा नभएको धारणा राखेका थिए । उनले माओवादीपंक्तिले कांग्रेसलाई भोट नहाल्ने भएका कारणले गठबन्धनको औचित्य नभएको बताएका थिए ।
“गठबन्धन गरेर जाँदा माओवादीले कांग्रेसलाई भोट हाल्दैनन्, कांग्रेसलाई केही फाइदा हुँदैन । त्यसकारण म गठबन्धनको पक्षमा छैन । एक्लै चुनावमा जानुपर्छ,” कोइरालाको भनाइ उद्धृत गर्दै थपलियाले बाह्रखरीसँग भने ।
जवाफमा प्रचण्डले अहिलेको गठबन्धनलाई नै चुनावी गठबन्धन बनाएर जानुपर्नेमा जोड दिएको थपलियाले बताए ।
कोइरालाले संसद्लाई बन्धक बनाउन नहुने भन्दै समस्याहरू संसद्बाटै छिनोफानो गर्नुपर्ने बताएका थिए । यस्तै, कोइरालाले एमसीसी परियोजना के गर्ने भन्ने विषयमा गठबन्धन चाँडो निष्कर्षमा पुग्नुपर्ने धारणा राखेको थपलियाले जानकारी दिए ।