काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युनाइटेड अरब इमिरेट्स (यूएई) जाने भएका छन् । यूएईमा अलपत्र परेका नेपालीहरूको व्यवस्थापनका विषयमा यूएई सरकारसँग फलफल गर्न मन्त्री श्रेष्ठ आगामी साता यूएई जान लागेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री श्रेष्ठले नेपालका लागि यूएईका राजदूत साइद हमदान अल नाकीसँग आज मन्त्रालयमा छलफल समेत गरेका छन् । त्यस क्रममा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गएर अलपत्र परेका नेपालीहरूको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरे ।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रक्रियाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ छ ।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरूलाई पनि आवश्यक सहयोग गर्ने बताए ।
मन्त्री श्रेष्ठको यूएई भ्रमणको क्रममा नेपाल-यूएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ ।