मलंगवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँकेस्थित जंगलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । बसमा सवार १२ सहित १३ जना घाइते भएका छन् ।
सिरहाको बरियारपट्टीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ७५३ नम्बरको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना२९प ४४९८ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिँदा बसमा सवार ४० मध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
बसको ठक्करबाट मोटरसाइकलमा पछाडि सवार ईश्वरपुर–१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । लालबन्दीस्थित गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि उनलाई नेसनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
लालबन्दी मोडेल अस्पतालमा उपचारपश्चात् सातजना डिस्चार्ज भई आ–आफ्नो घरतर्फ फर्किसकेको र बाँकी चार घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । एकजनालाई सिरहातर्फ सिफारिस गरिएको प्रहरीले जनाएको छ । अत्यधिक कुहिरोका कारण राजमार्गमा सवारी दुर्घना बढेको छ ।
आगोले जलेर घाइते
यसैबीच, सर्लाहीको विष्णु गाउँपालिका–७ का प्रतिमा देवी राय आगो ताप्ने क्रममा गम्भीर घाइते भएकी छन् । गए राति परालको आगो ताप्ने क्रममा उनको शरीरमा आगो सल्किएको थियो । उनी गर्भवती समेत रहेकी बताइएको छ ।
कम्मरभन्दा मुनि दुवै खुट्टा जली घाइते भएकी उनको जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस