काठमाडौं । सत्ता गठबन्धनका दलहरुको बैठक शनिबार बिहानका लागि तय भएको छ । सत्तारुढ गठबन्धनका दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका थिए ।
भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनका विषयमा निर्णय गर्नुपर्ने भन्दै यसमा ढिलो गर्नु उचित नहुने बताएका थिए । त्यसपछि गठबन्धनका नेताहरुले चाँडै बैठक बसेर निर्णय लिन सहमति दिएका हुन् । उनीहरुको सहमति पछि देउवाले शनिबार विहान ९ बजेका लागि बैठक डाकेका छन् ।
प्रधनमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा मुख्य एजेन्डा स्थानीय तह निर्वाचन नै हुने बताइएको छ । स्थानीय तह निर्वाचन ऐन संशोधन नभएपछि निर्वाचन आयोगले ऐनको दायराभित्र चुनाव गराउन मिति घोषणा गर्न सरकारलाई दबाब दिइरहेको छ । स्थानीय तह निर्वाचन ऐनले निर्वाचनको दुई महिना अगावै निर्वाचनगरी कार्यभार सम्हालेकै दिन पद हस्तान्तरण गर्ने व्यवस्था गरेको छ ।
तर, संविधानको धारा २५ ले स्थानीय तहको निर्वाचित कार्यसमितिको कार्यकाल पाँच वर्ष तोक्दै थप छ महिनाभित्र निर्वाचन गरिसक्नु पर्ने व्यवस्था गरेपछि अहिले संविधान र कानुन कुन मान्ने भन्ने बहस चलिरहेको छ । सत्ता गठबन्धनले संविधानसँग ऐन बाझिए बदर हुने संविधानको धारा १ मा टेकेर ऐन संशोधन गर्ने निर्णय गरिसकेको छ ।
‘संविधानविद’को सुझावमा लिएको त्यो निर्णय सरकारले कार्यान्वयका लागि संशोधन प्रस्ताव संसदमा पठाइसकेको छैन । उक्त निणर्य नहुँदा निर्वाचन आयोगले सरकारलाई कानुन अनुसार वैशाख मसान्तभित्र चुनाव गराउन दबाब बढाइरहेको छ ।