काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ९० वर्षयताकै न्यून देखिएको छ । १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले वि.सं. १९८७ को जनगणनापछिकै वार्षिक जनसंख्या वृद्धिदर न्यून भएको जनाएको छ ।
२०७८ को जनगणनाको प्रारम्भिक विवरणअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०६८ को जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । २०७८ को जनगणनामा नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत रहेको छ । यसको अन्तिम तथ्याङ्क आउँदा केही तलमाथि हुन सक्ने भए पनि ठूलो घटबढ भने नहुने विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।
नेपालमा पहिलोपटक १९६८ मा जनगणना भएको थियो । त्यसपछि हरेक १० वर्षमा (कुनै समयबाहेक) राष्ट्रिय जनगणना हुँदै आएको छ । केन्द्रीय तथ्याङ्क विभागकाअनुसार पहिलो जनगणनाको जनसंख्या ५६ लाख ३८ हजार ७४९ थियो । त्यसपछि १९७७ मा दोस्रो जनगणना हुँदा नेपालको जनसंख्या वार्षिक रूपमा ०.१२ प्रतिशतले घटेर ५५ लाख ७३ हजार ७८८ रहेको थियो ।
यसपछि १९८७ मा भएको तेस्रो राष्ट्रिय जनगणनामा पनि जनसंख्या वार्षिक ०.०७ प्रतिशतले घटेर ५५ लाख ३२ हजार ५७४ रहेको विभागले जनाएको छ ।
त्यसयता भएको हरेक जनगणनामा नेपालको जनसंख्या वृद्धि भएको छ । विभागले २०७८ मा गरेको जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गर्दै २०६८ देखि २०७८ सम्मको नेपालको औसत जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै रहेको जनाएको छ । जुन १९८७ को जनगणनापछिकै न्यून हो ।
यस बीचमा २००७ सालको जनआन्दोलन पछि २००९ देखि २०११ मा भएको पाँचौँ जनगणनामा नेपालको वार्षिक औसत जनसंख्या वृद्धिदर सवार्धिक २.७८ प्रतिशत रहेको विभागले जनाएको छ ।
२०६८ मा एघारौँ राष्ट्रिय जनगणनामा नेपालको वार्षिक जनसंख्या वृद्धिदर १.३५ प्रतिशत र २०५८ मा भएको राष्ट्रिय जनगणनामा जनसंख्या वृद्धिदर २.२५ प्रतिशत रहेको थियो ।
किन घट्यो जनसंख्या वृद्धिदर ?
२०६८ सालमा भएको जनगणनापछिको १० वर्षमा नेपालको जनसंख्या तीन करोड पुग्ने प्रक्षेपण गरिएको थियो । तर, प्रक्षपण गरिएको जनसंख्या नपुगेको तथ्याङ्कले देखायो । के कारणले अपेक्षित जनसंख्या पुगेन र जनसंख्या वृद्धिदर घट्यो ?
विभागका महानिर्देशक श्रेष्ठकाअनुसार जनसंख्याको प्रक्षेपण गर्दा जन्मदर, मृत्युदर र बसाइसराइलाई आधार मानिन्छ । तर, प्रक्षेपणको नजिकै पुगेको उनले बताए ।
अहिले जन्मदर निकै कम भएको छ । एक जना आमाले दुई भन्दा बढी सन्तान नन्माएको नदिएको उनले बताए । “कसैको ३/४ होला, कसैको २ होला, कसैको १ होला, कसैको शून्य होला । तर, समग्रमा २ जना मात्रै सन्तान भयो,” उनले भने, “त्यसैले हाम्रो जनसंख्या घट्दोक्रममा रहेको देखियो ।”
अन्तर्राष्ट्रिय बसाइँसराइ पनि बढ्दो क्रममा रहेकाले कम जनसंख्या देखिएको उनले बताए ।
यता, त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभाग प्रमुख प्राध्यापक डा. चैतन्य मिश्र भने नेपालमा मात्र नभएर विश्वभर नै जनसंख्यामा कमी आएको बताउँछन् । जनसंख्या वृद्धिमा आएको कमीले मुख्यगरी बच्चा पाल्न महँगो भयो भन्ने देखाएको उनले बताए ।
“सन्तान जन्माएपछि पढाउन खर्चिलो भयो । सहर बजारमा बस्ने ठाउँ पाउन गाह्रो भयो, महँगो भयो,” उनले भने, “शिक्षा, स्वास्थ्य महँगो हुँदा बच्चा पाल्ने महँगो भएकाले बाबुआमाले कम बच्चा जन्माएको देखियो ।”
अर्को, छोरा नै पाउनुपर्छ भन्ने मान्यता पनि त्यागेको जस्तो देखिएको उनले बताए । अभिभावकमा सन्तानलाई सकेसम्म राम्रो अवसर दिनुपर्ने, नयाँ पेसा सिकाउनुपर्ने र नयाँ संसारमा काम गर्न सक्ने बताउनुपर्छ भन्ने दृष्टिकोण पनि प्रतिविम्बित भएको उनको बुझाइ छ । विवाह गर्ने उमेर पनि पहिले भन्दा बढेको देखिएको पनि उनले बताए ।
सन्तान उत्पादक वा उपभोगकर्ता के हो भन्ने तर्फ पनि सोच गएको देखिएको उनले बताए । “अध्ययन नै भएको छ, बच्चा घरका लागि उत्पादन गर्ने भयो भने बढी बच्चा जन्माउँछन् । बच्चाले खाने र बढी खर्च गरिदिने भए भने कम जन्माइन्छ,” उनले भने, “बच्चा उपभोगकर्ता हो कि उत्पादक हो भन्नेबाट निर्णय हुने भएकाले पनि हुनसक्छ ।”