वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको सीमाक्षेत्रमा रुसले आफ्नो फौज तैनाथ गरेको विषयमा युरोपेली नेताहरूसंग अमेरिकाको ‘पूर्ण सहमति तथा एकता’ रहेको प्रतिक्रिया जनाएका छन् । सोमबार युक्रेनी समस्यामाथि भएको छलफलमा उनले यदि रुसले युक्रेनमा आक्रमण गरे रुसमाथि नाकाबन्दी लगाउनेबारे सम्पूर्ण पश्चिमी शक्ति राष्ट्रबीच सहमति जुटेको थियो ।
यसैबीच अमेरिकाले पनि आफ्नो ८ हजार ५ सय फौजलाई तयारी अवस्थामा राखेको छ ।
तर, युक्रेनी सीमानामा आफ्नो एक लाख फौज तैनाथ गरेका रुसले भने युक्रेनमा हमला गर्ने आफ्नो योजना नरहेको बताउँदै आएको छ ।
सोमबार युक्रेनी समस्यामाथिको अमेरिका-बेलायतबीचको ८० मिनेट लामो सो भिडियो वार्तामा फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड र युरोपेली संघ (ईयू)को पनि सहभागिता रहेको थियो । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का महासचिव जेन्स स्टोलटेन्वर्गले पनि सो बैठकमा फोन गरेर सहभागिता जनाएका थिए ।
बेलायतको डाउनिङ स्ट्रिटका प्रवक्ताले पनि रुसी शत्रुता बढिरहेकाबेला नेताहरूबीच अन्तर्राष्ट्रिय एकताको महत्व माथि एकता भएको बताएका छन् ।
सोमबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले गुप्तचर सुत्रलाई उद्धृत गर्दै रुसले युक्रेनको राजधानी किभमा बिजुली चम्केको गतिमा आक्रमण गर्ने योजना रहेको खुलासा गरेका थिए । नेटोले पनि पूर्वी युरोपमा सुरक्षा स्थिति मजवुत बनाउँदै लगेको छ ।
बीबीसीबाट ।