काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले एमबीबीएस, बीडीएस र बीएनएस अध्ययन गर्ने विद्यार्थीसँग क्याम्पसहरूले चिकित्सा शिक्षा आयोगले तोकेकोभन्दा बढी शुल्क लिए/नलिएकोबारे अनुसन्धान गर्ने बताएका छन् ।
शुक्रबार गृह मन्त्रालयमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल, विद्यार्थी संगठनका प्रतिनिधि र चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूसँग भएको छलफलमा गृहमन्त्री खाणले अनुसन्धानमा बढी शुल्क लिएको पाइएमा कानुन, ऐन र नियममा जस्तो प्रबन्ध छ त्यही अनुरुपको कारबाही सरकारले गर्ने बताएका हुन् ।
“चिकित्सा शिक्षा अध्ययनमा देखिएका समस्या समाधान गर्ने दायित्व सरकारका हो । अहिले कलेज सञ्चालकहरूले बढी शुक्ल लिएको आरोप विद्यार्थीले लगाइरहनु भएको छ । हामीले यस विषयमा अध्ययन गर्छौं,” गृहमन्त्री खाणले भने, अनुसन्धानमा दोषी पाइएमा ऐन, कानुन र नियममा जस्तो व्यवस्था छ, त्यही अनुरुपको कारबाही सरकारले गर्छ ।”
गृहमन्त्री खाणले कारबाही गर्दा कुनै आग्रह र पूर्वाग्रह नराखिने पनि स्पष्ट पारे । अनुसन्धानमा दोषी देखिए सरकारले आग्रह, पूर्वाग्रहभन्दा माथि उठेर सरकारले कारबाही गर्ने उनको भनाइ छ ।
विद्यमान कानुनको पालना गराउने दायित्व सरकारको भएको भन्दै गृहमन्त्री खाणले त्यो कानुनको पालना गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलले नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले शिक्षा मन्त्रालयसहितका सरकारी निकायसँग आफैंले गरेको सहमति उल्लंघन गरेको बताए । उनले राज्यका निकायलाई चुनौति दिने कलेज सञ्चालकहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउनु पर्ने बताए ।
छलफलमा गृहसचिव टेकनारायण पाण्डेले कलेज सञ्चालकले ठगेको प्रमाणसहित प्रक्रिया पुर्याएर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएमा सरकारले कानुनी कारबाही गर्ने बताए ।