काठमाडौं । देशका केही भागमा आज पनि हिमपात र वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
काठमाडौं उपत्यकामा आज बिहान ६ बजेको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौंमा आज दिउँसो पारिलो घाम लाग्नेछ । प्रदेश १ का केही स्थानमा बिहान वर्षा भइरहेको छ । काठमाडौंमा आज बिहान मेघगर्जनसहित हल्का वर्षा भएको थियो ।
“मौसममा केही सुधार हुँदै आएको छ । त्यसैले भारी वर्षा र हिमपातको सम्भावना छैन । वर्षा र हिमपात हुने उच्च पहाडी र हिमाली क्षेत्रमा पनि यो हल्का मात्रामा मात्रै हुनेछ,” उनले भनिन्, “न्यून चापीय प्रणाली कमजोर भएका कारण वर्षा र हिमपातको सम्भावना न्यून हुँदै कमजोर भएको हो ।”
यद्यपि, केही दिनमा पुनः पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुने उनले जानकारी दिइन् । चिसो भने बढ्ने क्रममा रहेकाले सतर्क हुन उनको आग्रह छ ।