काठमाडौं । वसन्तपुरस्थित हनुमानढोका क्षेत्रको कृष्ण मन्दिर परिसरमा मल्लकालीन शिलालेख तोडफोड गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । मानसिक अवस्था ठिक नभएकी मनमाया श्रेष्ठ नाम गरेकी महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोडले जनाएको छ ।
शिलालेख तोडफोड गर्ने दिनमा ती महिलाको आवतजावत सीसीटीभी फुटेजमा देखिएको थियो । सीसीटीभी फुटेजमा एक महिलाले झोला र कपडा बोकेको दृश्य कैद भएको थियो । सोही फुटेजका आधारमा बिहीबार साँझ प्रहरी वृत्त जनसेवा न्युरोडले उनलाई पक्राउ गरेको हो ।
जनसेवाका प्रहरी नायब उपरीक्षक दिलबहादुर मल्लकाअनुसार मनमायाको आफूले शिलालेख तोडफोड गरेको स्वीकार गरेकी छन् । तर, उनी मानसिक सन्तुलन गुमाएकी महिला हुन् ।
‘‘हामीले खोजतलास गर्दै जाँदा मानसिक सन्तुलन गुमाएकी महिला मन्दिरमा बस्ने सुत्ने उठ्ने गरेको पाइयो । उनलाई काठमाडौं महानगरपालिका वडा नम्बर २२ स्थित एक सडकपेटीबाट समातेर ल्यायौँ । यी महिलाले त्यहाँ सुत्ने क्रममा शिलालेखमा हात लागेर लडेको भनि स्वीकार गरेकी छन्,” उनले भने ।
महिलाको मानसिक अवस्था ठिक नभएकाले मानवसेवा आश्रम पठाइने प्रहरीले जनाएको छ । डीएसपी मल्लकाअनुसार मानसिक सन्तुलन गुमाएकी महिलालाई कारबाही गर्न सान्दर्भिक नभएकाले आश्रम पठाउन लागिएको हो ।
गएको पुस १५ गते बिहीबार हनुमानढोका दरबार क्षेत्रस्थित गणेशको मन्दिर परिसरको मल्लकालीन शिलालेख तोडफोड गरिएको थियो ।
अत्याधिक भिड हुने क्षेत्रको सुरक्षा निगरानीका लागि काठमाडौं महानगरपालिका हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, हनुमानढोका दरबार क्षेत्र हेरचाह अड्डा, महानगरीय प्रहरी वृत्त जनसेवा न्युरोड, गुठी संस्थान, पर्यटन प्रहरी, नगर प्रहरी, नेपाली सेनासहित सात निकाय छन् ।
यति धेरै सुरक्षा निकाय भएको ठाउँमा असाधारण सम्पदाहरू तोडफोड हुनु सम्पदा क्षेत्रको चुनौती भएको सम्पदा संरक्षणकर्मी गणपतिलाल श्रेष्ठले बताए । उनले सरोकारवाला निकायबीच समन्वय सहकार्य नहुँदा यस्तो समस्या आउने गरेको बताए ।
‘‘हनुमानढोका दरबार क्षेत्रमा मानसिक सन्तुलन गुमाएका, सडक मानवहरूको संख्या बढ्दै गएको छ । विश्व सम्पदा क्षेत्रमा यस्ता मानिसहरू हुनु पर्यटकमा नकारात्मक असर पर्नुका साथै सम्पदा टुटफुट हुने जोखिम उच्च छ । विश्व सम्पदा क्षेत्रका असाधारण सम्पदाहरू नाश हुँदै जाँदा सम्पदाको अस्तित्व संकटमा पर्छ,” उनले भने ।
हनुमानढोका क्षेत्रमा थुप्रै असाधारण सम्पदाहरू छन् । यी सम्पदाहरू जोगाउन सबै निकाय एकै ठाउँमा आएर काम गर्नुपर्ने सम्पदा संरक्षणकर्मी श्रेष्ठको भनाइ छ ।
हनुमानढोका हेरचाह अड्डाकाअनुसार तोडफोड गरिएको शिलालेख नेपाल संवत् ७६९ (विक्रम संम्वत १७०५) मा प्रताप मल्लले हुन् । उक्त शिलालेख ३६ पङ्क्तिमा लेखिएको छ । आफ्ना दुई रानी रुगमती र राजमतीको अचानक मृत्यु भएपछि शोकमा रहेका राजाले अष्ठाकोणाकार कृष्ण मन्दिर बनाउन लगाएका थिए ।
त्यसमा रुगमीणी सत्य भावना सहित कृष्णको मूर्ति स्थापना गरिएको थियो ।
राजा प्रताप मल्लको समयसम्म आउँदा कुन–कुन वंशावली आए भनी शिलालेखमा लेखिएको छ । उक्त शिलालेखको तौल करिब १५० किलो रहेको छ ।
हनुमानढोका हेरचाह अड्डाका कार्यकारी निर्देशक सन्दीप खनालले तोडफोड गरिएको शिलालेखका सबै टुक्रा संकलन गरी पुन: जोड्न सकिने बताए । उनले सरोकारवाला निकायबीच समन्वय गरी सम्पदा संरक्षण गर्दा समाधान गर्न सकिने बताए ।
‘‘शिलालेख पुन: जोड्न मिल्नेगरी तोडफोड भएको छ । शिलालेख त्यही स्थानमा कसरी सुरक्षित राख्ने भन्नेबारे छलफल गरिरहेका छौँ,” खनालले भने ।