काठमाडौं । चिकित्सा शिक्षा आयोगले तोकेको मापदण्ड विपरित काठमाडौं विश्वविद्यालय मातहतका कलेजले शुल्क लिएको भन्दै सात विद्यार्थी संगठनले विरोध जनाएका छन् । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरु काठमाडौं मेडिकल कलेज सिनामंगल, नोबेल मेडिकल कलेज मोरङ र मणीपाल मेडिकल कलेज कास्कीले राज्यले तोकेकोभन्दा धेरै आफूखुसी शुल्क लिएको गुनासो आएको र त्यसविरुद्ध भएको आन्दोलनको समेत उनीहरुले विरोध गरेका छन् ।
सात विद्यार्थी संगठनले विज्ञप्ति निकालेर विद्यार्थीहरुको जायज माग सम्बोधन गर्न माग समेत गरेका छन् । विज्ञप्ति निकाल्नेहरुमा नेपाली कांग्रेस निकट नेविसंघका अध्यक्ष राजिव ढुंगाना, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियुका सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, क्रान्तीकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेल, नेकपा निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौंका अध्यक्ष देवेन्द्र कुवर छन् ।
“राष्ट्रियता, जनजीविका र नेपाली विद्यार्थीको साझा मुद्दामा क्रियाशिल संयुक्त विद्यार्थी संगठन, आज लाखौं युवा विद्यार्थीको शैक्षिक सवालमा आन्दोलित छ,” विद्यार्थी संगठनले भनेका छन्, “चिकित्सा शिक्षाका विद्यार्थीको जायज मागहमा ऐक्यबद्धता जाहेर गर्दै विद्यार्थीलाई सहज वातावरणमा भर्ना र पठनपाठन गराउन जोडदार माग गर्दछौं ।”