काठमाडौं । सीमामा तनाव हुँदा पनि भारत र चीनबीच १०० अर्ब अमेरिकी डलरबराबरको व्यापार भएको छ ।
दुई देशबीचको सम्बन्धमा उतारचढाव देखा परिरहेको समयमा दिल्ली र बेइजिङबीच ठूलो राशिको द्विपक्षीय व्यापार भएको हो । तर, दुवै देशमा यसबारेमा व्यापक चर्चा नभएको बीबीसी हिन्दीले जनाएको छ ।
पूर्वी लद्दाखमा सैन्य गतिरोधपछि दुई देशको सम्बन्ध एकदमै कमजोर अवस्थाबाट गुज्रिरहेको छ । यसै कारण खासै चर्चा नभएको हुन सक्ने विश्लेषण गरिएको छ ।
भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)का अनुसार दुई देशबीच सन् २००१ मा एक अर्ब ८३ करोड डलर कारोबारबाट व्यापार सुरु भएको थियो । यो वर्षको ११ महिनाभित्रै १०० अर्ब डलर (करिब १२० खर्ब रुपैयाँ)को आँकडा पार गरेको हो ।
कतिको व्यापार भयो ?
चीनको जनरल एडमिनिस्ट्रेसन अफ कस्टम्सको अघिल्लो महिनाको तथ्यांकानुसार भारत र चीनबीचको द्विपक्षीय व्यापार ११४.२६३ अर्ब डलर पुगेको छ । दुई देशबीचको व्यापार जनवरीदेखि नोभेम्बर २०२१ को बीचमा ४६.४ प्रतिशतसम्म बढेको छ ।
भारतले चीनमा २६.३५८ अर्ब डलरको निर्यात गरेको छ, त्यो प्रत्येक वर्ष ३८.५ प्रतिशतले बढिरहेको छ । यस्तै, भारतले चीनबाट ८७.९ अर्ब डलर बराबरेको आयात गरेको छ । त्यो ४९ प्रतिशत बढिरहेको छ ।
एकातर्फ दुई देशबीचको व्यापारले १०० अर्ब डलरको आँकडा पार गरेको छ भने अर्कोतर्फ यस ११ महिनामा भारतको व्यापार घाटा तीव्र रूपमा बढिरहेको छ । व्यापार घाटाको अर्थ भारतले चीनलाई जति सामान बेच्छ, त्यसभन्दा बढी खरिद गर्छ ।
व्यापार घाटा भारतका लागि ठूलो चिन्ताको विषय बनेको छ । चीनसँग भारतको व्यापार घाटा ६१.५४७ अर्ब पुगेको छ । यस वर्ष ५३.४९ प्रतिशत बढेको हो ।
भारत र चीनबीचको सम्बन्ध अत्यधिक सुस्त भएका समयमा पछिल्लो आँकडा आएको हो ।
कीर्तिमानी व्यापारमाथि सवाल र नाजुक सम्बन्ध
रक्षा विश्लेषक ब्रह्मा चेलानीले यो व्यापार वृद्धिलाई लिएर ट्विट गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारमाथि प्रश्न गरेका छन् ।
उनले ट्विटरमा लेखेका छन्, “चीनबाट भइरहेको सीमा अतिक्रमणका बीच मोदी सरकारले सन् २०२१ मा चीनको साथ व्यापारमा भएको ५० प्रतिशत वृद्धिलाई कसरी सही ठह¥याउँछ, जसमा जनवरी र नोभेम्बर महिनाका बीच चीनका तर्फ ६१.५ अर्ब डलर बढी छ, जो यो सालको भारतको कुल रक्षा खर्चको लभगभ बराबर हो ।”
अघिल्लो वर्षको मे महिनाको ५ तारिखमा भारत र चीनबीच सैन्य गतिरोध सुरु भएको थियो । उक्त तनावको क्रममा पान्गोङ लेक क्षेत्रमा हिंसात्मक झडप भएको थियो, जसमा दुवै देशका कैयौँ सुरक्षाकर्मी मारिएका थिए । त्यसपछि दुवै देशले आ–आफ्नो क्षेत्रमा हजारौँ सशस्त्र सुरक्षाकर्मी तैनाथ गरेका थिए ।
थुप्रैपटक भएको सैन्य र कूटनीतिक छलफलपछि दुवै पक्षले यो वर्षको फेब्रुअरीबाट पान्गोङ लेकको उत्तर र दक्षिणतर्फको गोगरा क्षेत्रबाट अगस्ट महिनाबाट पछि हट्न सुरु भएको थियो । दुवै पक्षबीच ३१ जुलाईसम्ममा १२ चरणमा कुराकानी भएको थियो ।
केही दिनपछि गोगरामा दुवै सेनालाई पछाडि फर्काउने प्रक्रिया पूरा भएको थियो । त्यसलाई शान्ति र संयम कायम गर्न एकदमै महत्त्वपूर्ण मानिएको थियो ।
सीमामा पर्ने ‘लाइन अफ कन्ट्रोल’मा दुवै देशले ५० देखि ६० हजार सुरक्षाकर्मी तैनाथ गरेका छन् ।
यो संघर्षको अवस्थामा पनि भारत र चीनबीच दुवै देशका विदेशमन्त्री र वरिष्ठ सैन्य कमान्डरहरू निरन्तर सम्पर्कमा रहनु र तनावलाई नियन्त्रणमा लिनुलाई सकारात्मक कदमका रूपमा हेर्ने गरिएको छ ।
लद्दाखको गतिरोधले भारत र चीनबीच व्यापारबाहेक बाँकी सबै सम्बन्धलाई लगभग ठप्प बनाइदिएको छ । बीबीसी हिन्दीबाट ।