नयाँ दिल्ली । भारतमा स्वास्थ्यकर्मी र अग्रमोर्चामा काम गर्ने कामदारलाई आउँदो जनवरी १० तारिखदेखि कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप दिइने भएको छ ।
देशभर कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट फैलिइरहेको बेला प्रधानमन्त्री नरेन्द्र मोदीले पूर्वसावधानी उपायको रूपमा स्वास्थ्यकर्मी र अग्रमोर्चामा काम गर्ने कर्मचारीलाई बुस्टर मात्रा लगाइने बताएका छन् ।
शनिबार राति राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले ६० वर्षभन्दा माथिकालाई चिकित्सकको सिफारिसपछि बुस्टर डोज दिइने पनि बताए ।
यस्तै, १५ देखि १८ वर्षका व्यक्तिलाई जनवरी ३ देखि कोभिड–१९ विरुद्धको खोप दिइनेछ ।
मोदीले देशमा १८ लाख आइसोलेसन बेड (शय्या), पाँच लाख अक्सिजन सुविधासम्पन्न बेड र चार लाख अक्जिसन ट्यांक उपलब्ध रहेको बताए । योसँगै अस्पतालसँग सम्बन्धित अरू सेवा–सुविधा पनि रहेको उनको भनाइ छ ।
भारतमा ओमिक्रोनको संक्रमण बढिरहेको छ । भारतका विभिन्न १७ राज्यमा ओमिक्रोन संक्रमितको संख्या ४१५ पुगेको छ ।
प्रधानमन्त्री मोदीले महामारी नसकिएको चेतावनी दिँदै मास्क लगाउने, हात धुने र कोभिड–१९ प्रोटोकल पालना गर्नेलगायत पूर्वसावधानीका उपाय अपनाउन आग्रह गरेका छन् ।
मोदी सरकारले खोप लगाउनयोग्य ९४ करोड ४० लाख जनसंख्यामध्ये ८८ प्रतिशतलाई कम्तीमा एक मात्रा खोप दिइएको छ भने ६१ प्रतिशतले पूर्ण मात्रा लिएका छन् ।
लाखौँ मानिसले दोस्रो मात्रा पर्खिरहेका बेला स्वास्थ्यकर्मी र अग्रमोर्चामा खटिने कामदारलाई बुस्टर डोज दिन लागिएको हो ।
स्वास्थ्यविज्ञहरूले संक्रमण फैलन नदिन खोप कार्यक्रमलाई विस्तार गर्नुपर्ने बताएका छन् ।
संघीय सरकारले राज्यहरूलाई ठूलो भिडभाडलाई नियन्त्रण गर्न आग्रह गरेको छ । अलजजिराबाट ।