जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोडसमेत गरेका छन् ।
औरही गाउँपालिकाबाट गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत ठप्प पारिएको छ । औरही–३, कडहरबाका किसान मिथिलेश यादवलाई गएको बिहीबार पक्राउ गरिएको थियो ।
गाउँपालिकाको कृषि शाखाले गहुँ र स्वास्थ्य सामग्री लुटपाट गरेको भन्दै चार किसानविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएको छ । सोही आधारमा प्रहरीले एक किसानलाई पक्राउ गरेको र अरूको खोजी गर्न थालेपछि जनमतका नेता–कार्यकर्ता आन्दोलनमा उत्रिएका हुन् ।