गोरखा । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनालाई टुंगोमा पुर्याउन गठबन्धनमा रहेका दलबीच छलफल भइरहेको बताएका छन् ।
गोरखा उद्योग वाणिज्य संघको १६औँ अधिवेशनको उद्घाटन गर्न आएका उनले पत्रकारसँगको भेटमा एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकाले यसबारेमा सबै सकारात्मक हुनुपर्ने बताए ।
“यो कुनै सैन्य गठबन्धन होइन, विद्युत् प्रसारणलाइन र सडक निर्माण, गरिबी निवारण र रोजगारी वृद्धिका लागि यो परियोजना नेपालले नै प्रस्तुत गरेको हो,” गृहमन्त्री खाँणले भने, “एमसीसीले हामीले पेस गरेको परियोजनालाई स्वीकृत गरेको हो । यो सम्झौतालाई सदनबाट पारित गर्ने प्रावधान नेपालले राख्यो, त्यहीअनुसार नै यो पास हुनुपर्छ ।”
एमसीसी सम्झौतालाई टुंगोमा पुर्याउन सत्तारूढ गठबन्धनले कार्यदल बनाएर छलफल सुरु गरेका छन् । केही दिनअघि बसेको सत्ता गठबन्धनको बैठकले सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेको कार्यदल गठन गरेको थियो ।
फरक प्रसंगमा उनले निर्वाचन आयोगको कार्यतालिकाअनुसार राष्ट्रियसभा निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताए ।
राष्ट्रियसभाको निर्वाचन आगामी माघ १२ गते हुँदै छ । स्थानीय तह र आम निर्वाचनको पनि चर्चा चलिरहेको उल्लेख गर्दै उनले अब हुने तीनै तहका निर्वाचनका लागि सबै तयार हुनुपर्ने बताए ।
“आगामी निर्वाचनको सम्पूर्ण तयारी गर्न निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गरेको छ । सरकारले आयोगले भनेको जसरी नै तयारी र पूर्वतयारी गर्दै जान्छ,” गृहमन्त्री खाँणले भने ।
निर्वाचनमा सहयोग पुर्याउने सरकारको दायित्व भएको जनाउँदै उनले आयोगले ल्याउने प्रस्तावानुसार सरकारले आफूलाई प्रस्तुत गर्ने बताए । रासस