काठमाडौं । नेकपा (एमाले)का नेता भीम रावलले एमसीसीमा रहेको देश हितविपरीतका प्रावधान नसच्याई अनुमोदन गरिए राष्ट्रघात हुने बताएका छन् ।
शनिबार काठमाडौंमा नेपाल-चीन जनमैत्री प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा रावलले एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गतको रहेको पुष्टि भइसकेको भन्दै देश हितविपरीतका प्रावधान नसच्याई अनुमोदन गरिए राष्ट्रघात हुने बताएका हुन् ।
अमेरिकाका मन्त्रीले नै एमसीसी इन्डो प्यासिफिक रणनीतिअन्तर्गत हो भनिसकेको अवस्थामा नेपालका विज्ञ भन्नेले होइन भनेर एमसीसीको बचाउन गर्नु हास्यास्पद भएको उनको भनाइ छ । उनले आफूले एमसीसीबारे सबै प्रावधान पढेको भन्दै नेपालीलाई मूर्ख बनाउने काम नगर्न सुझाव दिए ।
पाँचतारे होटेलमा एमसीसी परियोजनाको कार्यालय रहेको भन्दै उक्त कार्यालयमा नेपालीको कर खर्च गरिएको आरोप पनि उनले लगाए ।
नेता रावलले एमसीसीको प्रस्तावना र विभिन्न धारा तथा सम्झौतामा उल्लेख बुँदाहरू सार्वभौमिक समानताको सिद्धान्तविपरीत रहेको तर्क गरे ।