काठमाडौं । नेपालकै लोकप्रिय एप ‘हाम्रो नेपाली किबोर्ड’को गुगल प्ले स्टोरमा एक करोड डाउनलोड पूरा भएको छ ।
फेसबुक र स्मार्ट फोन आउनेक्रममा नेपाली लेख्न नमिल्ने अवस्था थियो र धेरैले रोमन नेपालीमै लेख्नुपर्ने थियो । तर, लेख्न सजिलो थिएन । सन् २०१४ मा हाम्रोपात्रो नेपाली किबोर्ड आएसँगै धेरैका लागि नेपालीमा टाइप गर्न सजिलो भएको थियो । सोही हाम्रो नेपाली किबोर्ड अहिले एक करोडपटक डाउनलोड भएको छ ।
रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको ‘हाम्रो नेपाली किबोर्ड’ले एक करोड डाउनलोड पूरा गरेको छ । सन् २०१४ मा सार्वजनिक भएको एप सबैभन्दा छोटो अवधिमै १० लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो । योसँगै हाम्रोपात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन् । यसअघि, हाम्रोपात्रो एपले यो सफलता पाइसकेको छ ।
एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए । यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ), मोबाइलानुसार किबोर्डको आकार चाहेजस्तो सानो या ठूलो बनाउन सक्ने सुविधाका साथ स्टिकर्स र चाहेअनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको छ ।
“आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन् । यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो,” उप्रेतीले भने ।