बीबीसी । न्युजिल्यान्डमा अब २००८ पछि जन्मिएका कसैले पनि आजीवन चुरोट या तम्बाकूजन्य उत्पादन खरिद गर्न नपाउने भनिएको छ । यो कानुन अर्को वर्षदेखि नै कार्यान्वयन हुने बताइएको छ ।
अर्को पीँढीदेखि सुरु गरेर न्युजिल्यान्डले बिस्तारै देशमा धुम्रपान पूर्ण रुपमा निर्मुल पार्ने लक्ष्य राखेको छ ।
स्वास्थ्य मन्त्री डाक्टर आयेशा भेरलले भनिन्, “हामी अबका युवाहरुले कहिल्यै पनि चुरोट पिउन सुरु नगरुन् भन्ने सुनिश्चित गर्न चाहन्छौँ । ”
धुम्रपानमाथि कडाइ सुरु गर्ने नीति अन्र्तगत न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले बिहिबार यस्तो घोषणा गरेको हो । यो नयाँ नियमसँगै सरकारले तम्बाकू कहाँ विक्री गर्न पाउने जस्ता अन्य कानुन पनि लागू हुने बताएको छ । सुपरमार्केट र कुनाका स्टोरहरुबाट यसलाई हटाउने योजना रहेको छ । त्यसैले अब चुरोट विक्री गर्न पाउने स्टोरहरुको सङ्ख्या ८ हजाबाट घटाएर ५०० मा झारिएको छ ।
डाक्टर र अन्य स्वास्थ्यविद्हरुले पनि यो नयाँ अभियानको पूर्ण स्वागत गरेका छन् । यसलाई विश्वस्तरीय सुधारका रुपमा लिन सकिने बताइएको छ । यसले तम्बाकूको पहुँच घटाइदिनुका साथै चुरोटमा निकोटिनको स्तरमा पनि कडाइ गराउनेछ ।
युनिभर्सिटी अफ ओतागोकी प्रोफेसर ज्यानेट हुक भन्छिन्, “यसले मानिसहरुलाई या त धूम्रपान छाड्न या त्यो भन्दा कम हानिकारक उत्पादनको विकल्प लिन बाध्य बनाउनेछ । त्यसैले युवाहरुमा पनि निकोटिनप्रतिको लत कम हुनेछ ।”
यसरी न्युजिल्यान्ड देशव्यापी रुपमा २०२५ सम्म धुम्रपानको दर ५ प्रतिशतले घटाउने लक्ष्यमा समर्पित भएर लागिरहेको छ । र बिस्तारै यसलाई बढाउँदै देशलाई पूर्ण रुपमा धुम्रपानमुक्त पार्ने बताएको छ ।
हाल न्युजिल्यान्डका करिब १३ प्रतिशत वयश्कहरुले धुम्रपान गर्छन् । यो भनेको एक दशक अगाडिको १८ प्रतिशत भन्दा धेरै कम हो ।
धुम्रपानले चारमध्ये एकजनामा क्यान्सर हुने र ५० लाख बढीको ज्यान लिने गरेकाले पनि लामो समयदेखि न्युजिल्यान्डमा सरकारले तम्बाकू उद्योगलाई निशाना बनाइरहेको देखिन्छ ।