काठमाडौं । लियोनल मेसी युगपछि बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगमा पुनः अर्को झट्का बेहोरेको छ । दुई पटकको अग्रता जोगाउन नसक्दा बार्सिलोना ओसासुनासँग २–२ को बराबरीमा रोकिएको छ ।
च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको बार्सिलोना लिगमा पनि खराब स्थितिमा छ । बराबरीपछि बार्सिलोना १६ खेलबाट २४ अंक जोड्दै आठौं स्थानमा छ । जुन चौथो स्थानको एट्लेटिको मड्रिडभन्दा पाँच अंकले पछाडि हो भने शीर्ष स्थानको रियाल मड्रिडभन्दा १८ अंकले पछाडि हो ।
ओसासुना भ्रमणमा बार्सिलोनाले १२औं मिनेटमा १९ वर्षे निको गोन्जालेजको गोलबाट अग्रता लिएको थियो । त्यसको दुई मिनेट नवित्दै डेबिड गार्सियाले बराबरी फर्काए । ४९औं मिनेटमा विदेसमद इजाजौलीले गरेको गोलबाट बार्सिलोनाले पुनः अग्रता लिएको थियो । तर, अन्तिम पाँच मिनेट सम्हालिन नसक्दा बार्सिलोनाले अंक बाढ्नु पर्यो । ८६औं मिनेटमा इजाक्विल एभिलाले बराबरी गोल फर्काएका थिए ।
लिगमा बार्सिलोनाले पछिल्लो दुई खेलमा अंक जोड्न सकेको छैन । बार्सिलोना यसअघि रियाल बेटिससँग १–० ले पराजित भएको थियो । २२ अंक जोडेको ओसासुना भने दशौं स्थानमा छ ।
तेस्रो स्थानमा रहेको रियाल बेटिसले गएराति रियाल सोसिडाडलाई ४–० ले हरायो । रियाल बेटिसको जितमा एलेक्स मोरेनोले दुई गोल गरे भने नाबिल फेकिर र जुएनमीले एक एक गोल गरे ।
पराजित रियाल सोसिडाड भने २९ अंकका साथ पाँचौं स्थानमा छ । जुन चौथो स्थानको एट्लेटिको मड्रिडसँग बराबरी हो । एट्लेटिको गएराति शीर्ष स्थानको रियाल मड्रिडसँग २–० ले पराजित भएको थियो ।