काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गलत ढंगले पार्टी कब्जा गर्न थालेपछि आफूहरू अलग भएको बताएका छन् ।
शनिबार बुटवलमा समाजवादी प्रेस संठगनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान समयमा देशमा राजतन्त्र फर्काउन चलखेल भइरहेको भन्दै अब कुनै पनि हालतमा पुरानो इतिहास नदोहोरिने ठोकुवा पनि गरे ।
भर्खरै निर्वाचित भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रतिगामी चिन्तन नराखी अग्रगामी सोच राखेर हिँड्न उनले सुझाव दिए । ठूलो त्याग र बलिदानीबाट प्राप्त भएको उपलब्धिहरूलाई जोगाउन र संरक्षण गर्ने कार्यमा सकारात्मक भूमिका खेल्न लिङ्देनलाई उनको सुझाव थियो ।
उनले तत्काल कुनै पनि पार्टीसँग चुनावी तालमेलबाहेक अरू एकीकरणको सम्भावना नरहेको बताउँदै आफूहरूको ध्यान पार्टी सृदृढ र बलियो बनाउनमा नै रहेको जिकिर गरे ।