काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहले आज १४औँ महाधिवेशनका लागि सभापति पदको साझा उमेदवार तय गर्ने भएको छ । संस्थापनइतरका शीर्ष नेताहरूको बैठक बसेर साझा उमेदवार तय गर्ने तयारी छ ।
यसअघि, मंगलबार नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा छलफल भएको थियो । उक्त छलफलपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले भोलि (आज) बेलुकासम्म साझा उमेदवार तोक्ने बताएका थिए ।
“सहमतिको निकै नजिक पुगेका छौँ । केही प्रक्रिया पूरा गरेर बाहिर आउँछ । सबै दृष्टिकोणबाट छलफल गर्यौँ,” उनले भने, “महाधिवेशनमा पार्टी जोगाउन छलफल गर्छौँ । केही प्रक्रिया पूरा गरेर भोलि (आज) टुंगो लगाउँछौँ ।”
बैठकमा नेता पौडेलले आउँदो चुनावसम्म मात्रै पार्टी चलाउन दिन आग्रह गरेका थिए । त्यसपछि आफू कार्यवाहक दिन तयार भएको तथा अहिले नै सहमति गर्न पनि तयार रहेको बताएका थिए ।
“चुनावसम्म पार्टी चलाउन दिनुस् । त्यस बेलासम्म कांग्रेसप्रतिको धारणामा सुधार गरौँ । पार्टीमा भएको अन्याय अन्त्य गरौँ । त्यसपछि पार्टी चलाउन तयार हुनुस् । आजै तयार हुनुस् । यो विषयमा अहिले नै सहमति गरौँ,” पौडेलको प्रस्ताव थियो ।
पौडेलले सभापतिका आकांक्षीसँग छुट्टाछुट्टै छलफल पनि गरेका थिए । छलफलपछि सभापतिका आकांक्षी तथा महामन्त्री डा. शशांक कोइरालाले आफूले रामचन्द्र पौडेलका लागि आफ्नो दाबी छाडेको बताए ।
“रामचन्द्र पौडेलले एकपटकका लागि मलाई छाडिदिन भन्नुभयो । मैले छाड्न तयार भएँ,” कोइरालाले भने, “अरूका नाममा सहमति भयो भने पनि उहाँले छाड्न तयार हुनुपर्छ ।”
संस्थापनइतरबाट सभापतिका बाँकी दुई आकांक्षी नेताहरू प्रकाशमान सिंह र शेखर कोइरालाले भने यस विषयमा केही बोलेका छैनन्।
मंगलबारको बैठकमा वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, नेताहरू कोइराला, सिंहलगायत सहभागी थिए ।
संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा पुनः सभापतिमा उठ्ने तयारीमा छन् । उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उमेदवारी घोषणा गरिसकेका छन् ।
कांग्रेसको १४औँ महाधिवेशन यही मंसिर २४-२६ गतेसम्म काठमाडौंमा हुने तय छ ।