काठमाडौं । खेल सकिन तीन मिनेट बाँकी हुँदा अर्थर मासुएकुले गोल गरेपछि वेष्ट ह्याम युनाइटेडले शनिबार राति इङ्लिस प्रिमियर लिगमा चेल्सीमाथि ३–२ को रोमाञ्चक विजय हासिल गरेको छ ।
चेल्सीले दुई पटकको अग्रता जोगाउन नसक्दा अंक गुमाउन पुग्यो । भ्रमणकारी चेल्सले २९औं मिनेटमा थियागो सिल्भाको गोलबाट अग्रता लिएको थियो । ४०औं मिनेटमा मानुएल लानजिनीले पेनाल्टीमा बराबरी गोल फर्काए । ४४औं मिनेटमा मासन माउन्टको गोलबाट चेल्सीले पुनः अग्रता लियो । ५६औं मिनेटमा वेष्ट ह्यामका जारोड बोवेनले बराबरी गोल फर्काए । ८७औं मिनेटमा मासुएकुले गोल गरेपछि वेष्ट ह्यामले घरेलु दर्शकलाई खुसी बनाएको थियो ।
‘‘हामीले सोचेजति राम्रो खेल्न सकेनौं,’’ चेल्सीका प्रशिक्षक थोमस टुचेलले भने, ‘‘हामी जित नजिक पुगेर हार्यौं ।’’
पराजित भएपछि शीर्ष स्थानको चेल्सी तेस्रो स्थानमा झरेको छ । गएराति नै म्यानचेस्टर सिटी र लिभरपुलले आ–आफ्नो खेल जित्दै क्रमशः शीर्ष र दोस्रो स्थानमा उक्लिका छन् ।
समान १५ खेलबाट सिटीले ३५, लिभरपुलले ३४ र चेल्सीले ३३ अंक जोडेका छन् । जितपछि चौथो स्थानको वेष्ट ह्यामले पनि शीर्ष क्लबसँगको अंक दूरी घटाएको छ । वेष्ट ह्यामले २७ अंक जोडेको छ ।