काठमाडौं । ०७२ सालको भूकम्पले क्षति पुगेको काष्ठमण्डप पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भित्रतिरको सबै पुननिर्माणको काम सकिएकाले अब मंसिर महिनामै उद्धघाटन गर्ने तयारी गरिएको काष्ठमण्डप पुननिर्माण समितिले जनाएको छ ।
काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवम् प्रदेश सांसद राजेश शाक्यले परम्परागत शैलिमा पुनर्निर्माण भइरहेको जानकारी दिए ।
‘‘पुननिर्माणका लागि काठमाडौं महानगरले विभिन्न चरणमा ११ करोड ५० लाख रकम रुपैयाँ सहयोग गरेको छ । भित्रि सबै काम सकिएको छ । बाहिरको केही काम बाँकी छ । अब परम्परा अनुसार यही महिनामै उद्धघाटनको साइत निकालेर उद्धघाटन गर्छौं,” उनले भने ।
माटो, इँटा र काठ प्रयोगमा पाँचौ र सातौँ शताब्दिको शैलीमा पुनर्निर्माण भइरहेको छ । २०७५ सालदेखि पुनर्निर्माणको काम सुरु भएको थियो । पुनर्निर्माणमा अहिलेसम्म साढे ११ करोड भन्दा बढी खर्च भइसकेको समितिले जनाएको छ ।